हिमालयन बैंक लिमिटेडको तीसौंं वार्षिक साधारणसभा बिहीबार सोल्टी होटलमा सम्पन्न भएको छ। बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठको अध्यक्षतामा भएको उक्त सभाबाट सिभिल बैंक लिमिटेडलाई प्राप्ति गर्ने विशेष प्रस्ताव सर्वसम्मतिले पारित भएको छ।
बैंकका अध्यक्ष श्रेष्ठले सञ्चालक समितिको प्रतिवेदन पढेर प्रस्तावहरूमा छलफल गरी अनुमोदनका लागि प्रस्तुत गरेका थिए।
बैंकका निवर्तमान अध्यक्ष तथा संस्थापकहरू हिमालय शम्शेर राणा, स्व. नरसिंह बहादुर श्रेष्ठ, स्व. मोहन गोपाल खेतान, मनोज बहादुर श्रेष्ठ, तुलसी प्रसाद गौतम लगायत सञ्चालक समितिका सदस्यलाई बैंकलाई यहाँसम्म ल्याउन पुर्याएको योगदानका लागि धन्यवाद पनि अध्यक्ष श्रेष्ठले दिए।
साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीलाई चुक्ता पुँजीको ८ प्रतिशत बोनस सेयरले हुने जम्मा १ अर्ब तीन करोड रूपैयाँ तथा ११.११ प्रतिशत नगद लाभांशले (कर सहित) हुने जम्मा एक अर्ब ४४ करोड गरी कुल १९.११ प्रतिशत लाभांश दिने निर्णय पारित गरेको छ।
त्यस्तै साधारण सभाले विजयबहादुर श्रेष्ठलाई निर्विरोध रूपमा सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक समितिमा निर्वाचित गरेको छ।
साधारण सभाबाट हिमालयनले सिभिल बैंक लिमिटेडलाई १०० बराबर ८०.२८ (स्वाप रेसियो १ः०.८०२८ अर्थात् सिभिलको १०० कित्ता सेयर हुनेले हिमालयको ८०.२८ कित्ता सेयर पाउने) सेयर आदान प्रदान अनुपातमा प्राप्ती गर्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित गरेको छ।
हिमालयनले सिभिललाई प्राप्तिपश्चात नयाँ बैंकको नाम 'हिमालयन बैंक लिमिटेड' नै हुनेछ। नयाँ बन्ने बैंकको कुल अधिकृत पुँजी २६ अर्ब हुनेछ भने जारी तथा चुक्ता पुँजी २१ अर्ब ६५ करोड रूपैयाँभन्दा बढी हुनेछ। त्यस्तै कुल पुँजीकोष ३६ अर्ब ६९ करोडभन्दा बढी हुनेछ।
यसैगरी बैंकको कुल शाखा सञ्चाल १८९, विस्तारित काउन्टर १९ र एटिएम संख्या २६२ पुग्नेछ।