चालु आर्थिक वर्षको साउनमा ८.६४ प्रतिशतको महँगी खेपिरहेका नेपालीहरूले मंसिरमा भने ७.३८ प्रतिशत महँगी खेप्नुपरेको छ।
राष्ट्र बैंकले वार्षिक औसत मूल्यवृद्धि ७ प्रतिशतमा कायम गर्ने लक्ष्य लिएको भएपनि मंसिरसम्ममा यस्तो औसत मूल्य वृद्धिदर ८.१७ प्रतिशत छ।
भारतमा ७.४१ प्रतिशतसम्म बढेको महँगी दर हाल ५.७२ प्रतिशत छ। भारतमा हुने मूल्य वृद्धिको प्रभाव नेपालमा समेत पर्ने गर्छ।
अहिले मुलुकमा हुने आयातको ६२.०१ प्रतिशत हिस्सा भारतबाट हुने आयातले ओगट्छ।
खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटलबाट प्राप्त सेवामा १५.५६ प्रतिशत, सुर्तीजन्य पदार्थमा ११.८१ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थमा ९.३९ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डामा ९.०७ प्रतिशत र पेय पदार्थमा ८.८४ प्रतिशतले मूल्य वृद्धि देखिएको छ।
गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायातमा १७.३३ प्रतिशत, स्वास्थ्यमा ११.२२ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिमा ८.७६ प्रतिशत, घरायसी उपयोगका वस्तुहरूमा ८.२९ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरूमा ८.२९ प्रतिशतले महँगी बढेको छ।
काठमाडौं उपत्यकाका मानिसहरूले ६.५६ प्रतिशतको मूल्य वृद्धि खेपिरहँदा तराईमा ८ प्रतिशत, पहाडमा ७.३२ प्रतिशत र हिमालमा ६.४८ प्रतिशत महँगी देखिएको छ।