सेयर बजार बढ्न थाल्दा लगभग हरेक सूचीकृत समूहमा केही न केही वृद्धि देखिन्छ।
यो नेपाली बजारको चरित्र नै हो। तर, पछिल्लो केही वर्षयता जलविद्युत कम्पनीहरूको सेयर मूल्यमा पनि उच्च दरमा वृद्धि देखिन थालेको छ।
यसपटक पनि केही दिनअघि जलविद्युत कम्पनीहरूको मूल्य एकै दिन सर्किट लाग्ने गरी १० प्रतिशतको दरमा वृद्धि भयो।
जलविद्युत कम्पनीहरूमा केही समयअघि ठूला साना धेरै लगानीकर्ताहरूले लगानी गरेका थिए। यही कारण लाभांश क्षमता नै नभएका केही यस्ता कम्पनीको सेयर मूल्य पनि उच्च दरमा बढ्ने गरेको छ।
लाभांश क्षमताभन्दा पनि पूर्व मूल्यको आधारमा धेरै लगानीकर्ताहरूले जलविद्युत कम्पनीहरूमा लगानी गर्ने गरेका छन्। तर, कुनै पनि कम्पनीहरूको सेयर मूल्य र नेप्से परिसूचकलाई अलग तरिकाले बुझ्न पर्ने एउटा फरक प्रसंगमा सेयर विश्लेषक रविन्द्र भट्टराई बताउँछन्।
भट्टराई भन्छन्, 'एक पटक उचाइमा पुगेर सेयर मूल्य घटेका कम्पनीमध्ये ७० देखि ८० प्रतिशतको मूल्य पुनः अघिल्लो उचाइमा पुग्दैनन्, तर नेप्से परिसूचक एक पटक उचाइमा पुगेर घटेपछि वियरिश अवधि सकिएर पुनः बढ्दा अघिल्लो उचाइभन्दा माथि जान्छ, त्यसैले सेयर मूल्य र नेप्से परिसूचक फरक कुरा हुन्।'
तर पूर्व मूल्यकै आधारमा जलविद्युत क्षेत्रमा पनि वृद्धि देखिने प्रवृत्ति केही अवधिदेखि सामान्य हुन थालेको छ।
यस साताको अन्तिम दिन (बुधबार)कै कारोबारमा पनि केही जलविद्युत कम्पनीको मूल्य एकै दिन १० प्रतिशतसम्म बढ्यो।
यस्ता केही र यही समूह भित्रका उच्च मूल्य भएका कम्पनीहरूको आधारभूत पक्ष यसमा केलाउने छौं।
बाराही हाइड्रोपावर कम्पनी
केही समयअघि बजारमा कारोबार हुन थालेको बाराही हाइड्रोपावर कम्पनीको सेयर मूल्य बढ्दो क्रममा छ। भर्खरै सूचीकरण भएको कम्पनीलाई बढेको बजारले थप साथ दिँदा मूल्यमा पनि वृद्धि देखिन थालेको हो।
पहिलो कारोबारको लागि मात्रै ६४.९७ रूपैयाँदेखि एक सय ९४ रूपैयाँ पाएको कम्पनीको सेयर मूल्य हाल ३४३.९० रूपैयाँ रहेको छ।
१.५ मेगावाट क्षमताको ठेउले खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको कम्पनीको प्रतिसेयर नेटवर्थ मात्रै ६४.९७ रूपैयाँ छ।
कम्पनीले आर्थिक वर्ष २०७८/७९ असारमा एक करोड ११ लाख रूपैयाँ आम्दानी गरेकोमा २०७८÷८० मा एक करोड १२ लाख आम्दानी गर्ने प्रक्षेपण गरिएको छ। कम्पनीको आर्थिक वर्ष २०७८÷७९ असारमा प्रतिसेयर आम्दानी ६ रूपैयाँ ९३ रूपैयाँ मात्र छ।
सिंगटी हाइड्रो इनर्जी
हालसम्म सिंगटी हाइड्रो इनर्जीको सेयर मूल्य ६ सय ५० सम्म पुगेको छ। अहिले भने कम्पनीको सेयर तीन सय ७४ रूपैयाँमा कारोबार भइरहेको छ।
गत आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासमा चार करोड ५६ लाख रूपैयाँ नाफा कमाएको कम्पनी चालु आर्थिक वर्षको पहिलो त्रैमासमा भने २१ लाख रूपैयाँ नोक्सानमा छ।
केही समयअघि ५ करोडसम्म नोक्सानमा रहेको कम्पनीको नोक्सान घट्न थालेकोले पनि लगानीकर्ता उत्साहित भएका हुन सक्छन्।
कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २६ करोड रूपैयाँ विद्युत बिक्रीबाट कमाएको छ। तर, कम्पनीको प्रतिसेयर नेटवर्थ मात्रै ९९.८५ रूपैयाँ र प्रतिसेयर आम्दानी (त्रैमासिक) दुई रूपैयाँ ९६ पैसा छ।
माउन्टेन इनर्जी नेपाल
५ मेगावाटको टाडी खोला जलविद्युत र ४२ मेगावाटको मिस्त्री खोला आयोजना सञ्चालन गरिरहेको कम्पनीको विद्युत बिक्रीबाट वार्षिक एक अर्ब २३ करोड रूपैयाँ पुगेको छ।
एक अर्ब ९६ करोड चुक्ता पुँजी रहेको कम्पनीको सञ्चितिका एक अर्ब २८ करोड रूपैयाँ छ। सञ्चितिमा रहेको रकम लाभांश बाड्न प्रयोग गर्न मिल्छ।
यसकम्पनीले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत नगद लाभांश दिएको छ। कुनै समय एक हजार पाँच सय रूपैयाँसम्म मूल्य रहेको यस कम्पनीको मूल्य हाल आठ सय १३ रूपैयाँ छ।
कम्पनीको त्रैमासिक आधारमा निकालिएको प्रतिसेयर आम्दानी १४ रूपैयाँ र प्रतिसेयर नेटवर्थ एक सय ६५ रूपैयाँ छ।
अप्पर तामाकोशी
कुनै समय करिब नौ सय रूपैयाँसम्म मूल्य रहेको अप्पर तामोकशी हाइड्रोपावर कम्पनीको मूल्य हाल पाँच सय ४३ रूपैयाँ छ।
४५६ मेगावाटको अप्पर तामाकोशी आयोजना सञ्चालन गरिरहेको यस कम्पनीले वार्षिक एक अर्ब रूपैयाँसम्म नाफा कमाउँदै आएको छ। कम्पनीले रोल्वालिङ जलविद्युत आयोजना समेत निर्माण अगाडी बढाएको छ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७९ करोड नाफा कमाएको कम्पनीको सञ्चित नोक्सानी नै एक अर्ब ९४ करोड रूपैयाँ छ। कम्पनीको ४६ अर्ब रूपैयाँ दीर्घकालिन ऋण र दुई अर्ब अल्पकालिन ऋण बाँकी छ।
कम्पनीको प्रतिसेयर आम्दानी सात रूपैयाँ ५३ पैसा र प्रतिसेयर नेटवर्थ ८१ रूपैयाँ छ।
रुरु जलविद्युत परियोजना
कुनै समय एक हजार आठ सय ५० सम्म मूल्य पुगेको यस कम्पनीको हाल सेयर सात सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ।
५ मेगावाटको रुरु जलविद्युत परियोजना सञ्चालनमा रहेको कम्पनीको चुक्ता पुँजी ४४ करोड छ। कम्पनीको सञ्चिति तथा जगेडा कोषमा १७ करोड २० लाख रूपैयाँ छ। यस कम्पनीले विद्युत बिक्रीबाट वार्षिक १६ करोड रूपैयाँ बराबरको विद्युत बिक्री गर्दै आएको छ।
कम्पनीको प्रतिसेयर आम्दानी २२ रूपैयाँ ७३ पैसा र प्रतिसेयर नेटवर्थ एक सय ३८ रूपैयाँ छ। कम्पनीले गत आर्थिक वर्षको नाफापछि १० प्रतिशत बोनस सेयर दिएको हो। कम्पनीले विगत तीन वर्षदेखि यही दरमा लाभांश दिँदै आएको छ।