सपोर्ट लघुवित्त वित्तीय संस्था र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन्।
सपोर्ट लघुवित्तको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले ११ प्रतिशत बोनस सेयर र ०.५७ प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित) दिने निर्णय गरेको हो।
हाल कम्पनीको चुक्त पुँजी ८ करोड ५८ लाख रुपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो।
त्यस्तै, इन्फिनिटी लघुवित्तको कम्पनीको शनिबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो।
यसले नेपाल एग्रो लघुवित्त संस्थालाई प्राप्ति गरी एकीकृत कारोबार सुरू गरिसकेको हुँदा बोनस सेयरमा कर छुटको सुविधा पाएकाले कम्पनीले बोनस सेयरमा कर तिर्न नगद लाभांश भने नछुट्याएको जनाएको छ।
हाल इन्फिनिटीको चुक्ता पुँजी ४१ करोड ४५ लाख रुपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि दुवै कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूले पाउनेछन्।