ग्लोबल आइएमई लघुवित्त र लक्ष्मी लघुवित्तले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेका छन्।
ग्लोबल आइएमई लघुवित्तको बुधबार बसेको सञ्चालक समितिको बैठकले १२ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद (कर सहित) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
हाल उक्त कम्पनीको चुक्ता पुँजी ५५ करोड २५ लाख रुपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो।
गत वर्ष भने कम्पनीले २८ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।
त्यस्तै, लक्ष्मी लघुवित्तले पनि यस वर्ष कुल २० लाभांश दिने घोषणा गरेको छ।
कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ५ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
हाल यस कम्पनीको चुक्ता पुँजी ३८ करोड ४० लाख ५४ हजार रुपैयाँ छ।
गत वर्ष भने यस कम्पनीले २० प्रतिशत बोनस सेयर र कर सहित ७.३७ नगद गरी कुल २७.३७ प्रतिशत लाभांश दिएको थियो।
गत वर्षको तुलनामा दुबै कम्पनीहरूले लाभांश दर घटाएका छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्विकृतिपछि कम्पनीहरूको वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।