मंगलबार नेप्से परिसूचक ८.१५ अंकले बढेको छ।
आज नेप्से ०.३८ प्रतिशतले बढेर २१७३.२५ बिन्दुमा पुगेर बन्द भएको छ।
मंगलबार नेप्से परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ।
गत कारोबार दिन अर्थात् सोमबार ३ अर्ब ८६ करोड ४० लाख ८ हजार ९७३ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा त्यो रकम घटेर आज ३ अर्ब ३२ लाख ३० हजार ३९ रुपैयाँमा सीमित भएको छ।
यस दिन २४८ वटा धितोपत्रको ८३ लाख १८७ कित्ता सेयर किनबेच भएको हो।
मंगलबार सानिमा जिआइसी इन्स्योरेन्सको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। यस दिन उक्त कम्पनीको प्रतिकित्ता मूल्य ४४४ रुपैयाँ ६० पैसा पुगेको छ।
यस्तै, सूर्योदय वोमी लघुवित्तको सेयर मूल्य ९.७७ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार रुपैयाँ कायम भएको छ।
यस दिन सर्वाधिक मूल्य घट्नेमा मैलुङ खोला जलविद्युत रहेको छ।
उक्त कम्पनीको सेयर मूल्य ५.४८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ५०९ रुपैयाँमा झरेको छ।
यस्तै, एनएमबी हाइब्रिड फण्ड एल–१ को इकाइ मूल्य ५.२४ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ९ रुपैयाँ ७७ पैसा कायम भएको छ।
मंगलबार सर्वाधिक सेयर खरिद–बिक्री नेपाल दूर सञ्चार कम्पनीको भएको छ।
यस दिन उक्त कम्पनीको ८८९ रुपैयाँमा १२ करोड ९१ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ३.४९ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा शिव श्री हाइड्रोपावर रहेकोे छ। उक्त कम्पनीको २७८ रुपैयाँमा १० करोड ४१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक घटेको छ भने बाँकी ९ समूहको परिसूचक बढेको छ।
यस दिन वित्त समूहको परिसूचक सर्वाधिक ३.८८ प्रतिशतले बढेको छ भने म्युचुअल फण्ड समूहको परिसूचक सर्वाधिक २.१० प्रतिशतले घटेको हो।