एनआइसी एसिया बैंकका ग्राहकले भक्तपुरको काठमाडौं क्यान्सर सेन्टरमा उपचार गराउँदा विभिन्न सेवाहरूमा छुट पाउने भएका छन्।
‘डिजिटल फर्स्ट बैंक’ बन्ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैंकिङ प्रवर्द्धन गरिरहेको बैंकले क्यान्सर सेन्टरसँग समझदारी गरेको जनाएको छ। समझदारीपत्रमा बैंकका तर्फबाट चिफ लाइफस्टाइल बैंकिङ युनिभर्स श्याम प्रसाद लामिछाने र सेन्टरका तर्फबाट अध्यक्ष प्रो. डा. अन्जनी कुमार झाले हस्ताक्षर गरे।
समझदारी अनुसार मोबाइल बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिरहेका ग्राहक तथा बैंकका कर्मचारीहरूले यो छुट सुविधा लिन पाउने छन्।
त्यस्तै बैंकको मोबाइल बैंकिङ एप तथा कार्ड प्रयोगकर्ताहरूले उक्त सेन्टरमा थ्रीडी सिआरटी, आइएमआरटी, भिम्याट, पालियाटिभ केयर र टिबिआइ (टोटल बडी रेडिएसन) उपचारमा ५/५ प्रतिशत छुट पाउने छन्। अस्पतालले उपलब्ध गराउने अरू जुनसुकै सेवामा भने १० प्रतिशत छुट पाउने छन्। बैंकका कर्मचारीलाई भने उक्त उपचारहरूमा थप १ प्रतिशत र अरू जुनसुकै सेवामा थप २ प्रतिशत छुट व्यवस्था भएको छ।
बैंकले ३५९ शाखा कार्यालय, ४७३ एटिएम, १०६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरिसकेको छ।