सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेयर कारोवार फुकुवा भएको छ।
सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स मर्जर भएपछि गत पुस ७ गतेदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सञ्चालन गरेको कम्पनीको सेयर कारोबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले फुकुवा गरेको हो।
साविक सूर्या लाइफ इन्स्योरेन्स कम्पनी तथा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी बिचको मर्जर प्रक्रियाका क्रममा गत असार १३ गतेदेखि रोक्का रहेको सेयर कारोबार मर्जर सम्पन्न भई एकीकृत कारोबार भइसकेको छ।
सेयर सूचीकरणसम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा भइसकेको र आज (बुधबार) देखि सूर्यज्योति लाइफ इन्स्योरेन्सको नामबाट सेयर कारोबार सुरू भएको हो।
नेपाल स्टक एक्सचेन्जले ओपनिङ मूल्य ३७१ रुपैयाँ ५९ पैसा तोकेको छ।
साविक ज्योति लाइफ इन्स्योरेन्सको शेयर संरचना संस्थापक समूहअन्तर्गत ७० प्रतिशत तथा सर्वसाधारण समूह अन्तर्गत ३० प्रतिशत थियो।
कम्पनीको साधारण सभाबाट निर्णय भई नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भएपछि यथावत रहने गरी कम्पनीको पुँजी संरचना संस्थापक समूह अन्तर्गत ५१ प्रतिशत तथा सर्वसाधारण समूह अन्तर्गत ४९ प्रतिशत रहने गरी अभिलेख भएको छ।
साविक सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सको मर्जर हुँदा सेयर स्वाप अनुपात १००:०.८२४५ अर्थात साविक सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको १ कित्ता शेयर बराबर १ कित्ता र साविक ज्योति लाइफको १ कित्ता सेयर बराबर ०.८२४५ कित्ता कायम हुन गएको हुँदा सोही बमोजिम सेयरधनीहरूको नाममा सेयर कित्ता कायम भएको कम्पनीले जानकारी दिएको छ।
हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ५४ करोड रुपैयाँ छ भने १८१ शाखा कार्यालयहरूबाट सेवा प्रवाह गर्दै आएको छ।