स्वाभिमान लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन्।
स्वाभिमान लघुवित्तको बुधबार बसेको सञ्चालक समितिको बैठकले २० प्रतिशत बोनस सेयर र कर प्रयाजनको लागि १.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
हाल कम्पनीको चुक्ता पुँजी १२ करोड १७ लाख ८२ हजार १५० रुपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो।
गत वर्ष भने कम्पनीले ३२.३ प्रतिशत बोनस सेयर र कर प्रयाजनको लागि १.७ प्रतिशत नगद गरी कुल ३४ प्रतिशत लाभांश वितरण गरेको थियो।
त्यस्तै, सबैको लघुवित्तले यस वर्ष १८.९५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।
कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले १८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।
हाल कम्पनीको चुक्ता पुँजी २७ करोड रुपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो।
गत वर्ष भने कम्पनीले ३१.०५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.६३ प्रतिशत नगद गरी कुल ३२.६८ प्रतिशत लाभांश दिएको थियो।
दुबै कम्पनीले लाभांश दर गत वर्षको तुलनामा घटाएका छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीहरूको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।