अहिले बैंकहरूले कर्जाको ब्याजदर तय गर्न लिने आधार दरमा वृद्धि भएपनि मोलमोलाई गर्न सक्ने ऋणीको ब्याजदर घट्न सक्ने देखिएको छ।
साउनदेखि असोजसम्मको औसत आधार दर ९.८२ रहेको वाणिज्य बैंकहरूको यो दर कात्तिकदेखि पुससम्ममा १०.४२ प्रतिशत पुगेको छ।
यसले कर्जाको ब्याजदर महँगिने देखिने भएपनि कर्जा र निक्षेपको ब्याजदर अन्तर (स्प्रेड दर)को कारण भने केही निश्चित ऋणीले महँगिएको ब्याजदरको भार बोक्नु पर्ने देखिदैन।
'अहिले बैंकहरूको निक्षेपको ब्याजदर घटेको छ, यसले गर्दा स्प्रेडदर राष्ट्र बैंकले तोकेकोभन्दा सीमाभन्दा माथि हुनेछ,' एक पूर्व बैंकरले भने, ‘त्यसैले पनि बैंकहरूले केही निश्चित ऋणीको ब्याजदर घटाउन सक्छन्'
माघको लागि बैंकहरूले बचतको औसत ब्याजदर ६.४२ कायम गरेका छन्। पुसमा यस्तो औसत ब्याजदर ७.१३ प्रतिशत थियो। पुसमा १२.१३ प्रतिशत रहेको मुद्दती निक्षेपको औसत ब्याजदर पनि ११ प्रतिशतमा झरेको छ।
'अहिले राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई तोकेको स्प्रेड दर ४.४ प्रतिशत भएपनि चैतमा यो ४.२ प्रतिशतमा आइसक्नु पर्छ,' ती बैंकरले भने, 'तर, अहिले घटेको निक्षेपको ब्याजदर अनुसार समायोजन नगर्ने हो भने यो दर ४.४ प्रतिशतभन्दा माथि नै पुग्छ, त्यसैले माघमा पनि केही ऋणीको ब्याजदर बैंकहरूले घटाउनेछन्।'
स्प्रेड दर वैशाखमा ४ प्रतिशतमै सीमित राख्नु पर्ने व्यवस्था रहेकोले सबै ऋणीको कर्जाको ब्याजदर वैशाखपछि घट्नेछ। तर, अहिले बैंकमा प्रभाव पुर्याउन सक्नेहरूको ब्याजदर घट्ने देखिएको हो।