साताको पहिलो दिन आइतबार खुलेको सेयर बजार १४.६८ अंकले घटेर २,१६८ विन्दुमा आएको छ।
केही समयदेखि २,१८३ सम्म पुग्दै फर्किदै गरेको नेप्सेले यसअघि बनाएको २,१९६ को उचाईमा बलियो प्रतिरोध पाइरहेको देखिन्छ। गत बिहीबार २,१८३ सम्म पुगेको नेप्से त्यसअघि सोही साताको बुधबार र गत माघ ३ गते पनि २,१८२ मा पुगेर फर्किएको थियो।
साउन १७ गते नेप्से २,१९६ को उचाईमा थियो। यो हालको लागि नजिकको उच्च विन्दु हो। त्यसयता नेप्से सो विन्दुमा पुगेको छैन।
गत बिहीबारको तुलनामा कारोबार रकममा भने वृद्धि भएको छ। बिहीबार दुई अर्ब ८६ करोड रूपैयाँको कारोबार भएकोमा आइतबार भने तीन अर्ब एक करोड रूपैयाँको सेयर कारोबार भएको छ।
यसदिन दुई सय ६७ वटा धितोपत्र र ऋणपत्रको कारोबार भएकोमा ६३ वटाको मूल्य बढेको छ भने एक सय ८४ वटाको मूल्य घटेर किनबेच भएको छ।
लुम्बिनी जनरल इन्स्योरेन्स र बाराही हाइड्रोपावर कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतको दरमा वृद्धि भएको छ। सम्बृद्धी फाइनान्स र सिभिल लघुवित्तको सबैभन्दा धेरै ६ प्रतिशतको दरमा मूल्य घटेर कारोबार भएको छ। यसदिन होटेल, टुरिजम र जीवन बिमा समूहको परिसूचकमा भने वृद्धि भएको छ।
आइएमई जनरल इन्स्योरेन्सको सबैभन्दा धेरै नौ करोड ९९ लाख रूपैयाँको सेयर कारोबार भएको छ। हिमालयन उर्जा विकासको नौ करोड २१ लाखको कारोबार भएको छ। हिमालयन उर्जाले दुई सय प्रतिशत हकप्रद दिने घोषणा गरेसँगै कारोबार रकममा वृद्धि भएको हो।