२०७८ पुसमा अधिकांश वाणिज्य बैंकले सेयर बजारमा नोक्सान बेहोरेका थिए। २०७९ पुससम्म आइपुग्दा धेरैले नोक्सानलाई नाफामा बदलेका छन्।
सेयर बजारको कारोबार मापन गर्ने नेप्से परिसूचक हेर्ने हो भने २०७८ पुसमा २९२६ विन्दुमा थियो। त्यति बेला सेयर बजारमा कारोबार हुने १४ वाणिज्य बैंकमध्ये १३ वटालाई ३ अर्ब ३७ करोड रूपैयाँ नोक्सान भइरहेको थियो।
बैंकहरूलाई यस्तो नोक्सान सेयर बिक्रीका कारण नभई बजार घटबढ हुँदा त्यो समयको सेयर मूल्यका आधारमा भएको थियो।
२०७८ पुस ३० भन्दा अगाडि सेयर बजार परिसूचक ३१०० को उच्चतम विन्दुमा हुँदा लगानी गरेकाहरूले बजार ओरालो लागेसँगै नोक्सान बेहोरेका थिए। यस वर्ष पुस मसान्तसम्म आइपुग्दा ६ वाणिज्य बैंकलाई नाफा भएको देखिएको छ। सेयर बजार परिसूचक भने अहिले पनि २२०० विन्दु कट्न सकेको छैन।
सेयर बजारमा नाफा कमाउन थालेका ६ वाणिज्य बैंकमा नबिल, कुमारी, लक्ष्मी, एनआइसी एसिया, सिद्धार्थ र सिभिल बैंक छन्। एभरेष्ट बैंकले पनि नाफा गरेको देखिन्छ तर उसको नाफा थोरै छ।
‘बजार नबढे पनि घटेका बेला बैंकहरूले थप लगानी गरिरहेका थिए। त्यसैले अहिले बजारले सामान्य उचाइ लिँदा पनि नाफा भएको हुनसक्छ,’ एक सेयर विश्लेषकले भने।
सेयर बजारमा यस्तो रणनीतिलाई 'कस्ट एभरेजिङ' अर्थात् लागत समायोजन राणनीति भनिन्छ।
राष्ट्र बैंकको पछिल्लो निर्देशनअनुसार वाणिज्य बैंकहरूले सेयर किनेको कम्तिमा एक वर्ष बिक्री गर्न नपाउने व्यवस्था छ। यही कारण बैंकहरूले लागत समायोजनको रणनीति लिएका थिए। यसले उनीहरूको धेरैजसो नोक्सान नाफामा परिणत भएको हुनसक्ने ती विश्लेषकको भनाइ छ।
बैंकहरूको सेयरमा देखिएको नाफा-घाटा रू. लाखमा-
बैंक | पुस २०७९ | पुस २०७८ |
नबिल | १४६५ | –११६८४ |
सानिमा | – ६३४ | – ८०० |
हिमालयन | – ११६ | – २३५ |
एभरेष्ट | ०.२९ | – २.९३ |
कुमारी | ९५१ | – ३१९८ |
लक्ष्मी | १२५५ | – ४९४३ |
सनराएज | – ६० | – १७४९ |
प्रभु | – ११४४ | – ५४० |
माछापुच्छ्रे | – ६६ | – ५५ |
एनआइसी एसिया | ९६९ | – २३४४ |
एनएमबी | – ७९२ | १४८ |
सिद्धार्थ | ४९२७ | – ६२३९ |
सिभिल | २३ | – १५५ |
कृषि विकास | – ६४६ | – १८३८ |