पूर्वाञ्चल ल्युब आयल लिमिटेड (पिएलओ) ले सर्वसाधारणका लागि आइपिओ जारी गर्ने भएको छ।
मोरङको सुन्दरहरैंचामा मुख्य कार्यालय रहेको पिएलओले आगामी आर्थिक वर्षमा आईपीओ जारी गर्ने गरी सम्झौता गरेको छ।
उसले प्रभु क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त समेत गरेको छ।
शेयर निस्कासनका लागि भएको सम्झौता पत्रमा पीएलओका तर्फबाट प्रबन्ध निर्देशक भोलेश्वर दुलाल र क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले बुधबार हस्ताक्षर गरेका हुन्।
पीएलओको ४ लाख कित्ता शेयर अल्फा प्लस भेन्चर्स लिमिटेडले खरिद गरेको छ।
बुधबार नै अल्फा प्लस भेन्चर्सका तर्फबाट प्रबन्ध निर्देशक अंगिश घिमिरे र पीएलओका तर्फबाट प्रबन्ध निर्देशक दुलालबीच शेयर खरिद बिक्री सम्झौतामा समेत गरेका छन्।
प्रालिका रूपमा रहेको पीएलओ पब्लिक कम्पनीमा गइसकेकाले सर्वसाधारणमा शेयर जारी गर्न लागिएको प्रबन्ध निर्देशक दुलालले बताए।
आगामी आर्थिक वर्षमा कम्पनीले ५ लाख कित्ता शेयर सर्वसाधारणमा प्रिमियम मूल्यमा बिक्री गर्ने जनाइएको छ।
शेयरमध्ये १० प्रतिशत अर्थात् ५० हजार कित्ता शेयर स्थानीयलाई र ५० हजार कित्ता शेयर कर्मचारीलाई बिक्री गरी बाँकी रहेको ४ लाख कित्ता शेयर सर्वसाधारणमा बिक्री गरिने प्रबन्ध निर्देशक दुलालले बताए।