अन्तरदिनको कारोबारको आधारमा गत पुस ५ गते नजिकको न्यून बिन्दु १८८१.०४ बाट बढ्न थालेको सेयर बजार परिसूचक यो बीच अधिकतम २२७७ बिन्दुसम्म पुग्यो।
यो बीचमा २१ प्रतिशतले बढेको बजारमा हालसम्म ८ प्रतिशतको करेक्सन भएको छ। यो सँगै नेप्से परिसूचक २०९४ बिन्दुमा आइपुगेको छ।
१८ सयको बिन्दुबाट बढ्दै गर्दा नेप्से परिसूचक कम्तीमा २५ सय बिन्दुसम्म पुग्ने लगानीकर्ताहरूको अपेक्षा विपरीत बजारले सो तह भेट्न सकेन।
बजार बन्द हुँदाको अन्तिम बिन्दुको आधारमा नेप्सेले लामो समयदेखि २१९६ मा प्रतिरोध पाइरहेकोमा यसलाई तोड्न नसकेको हो।
तर, अब भने बजार घट्न पर्ने नदेखिने बजार स्रोतहरू बताउँछन्। 'अहिले निक्षेपको ब्याजदर घटेसँगै यसको लाभ सेयर बजारले पाइरहेको छ,' एक ब्रोकरले भने, 'बजारबाटै राम्रो लाभ पाउने देखिएपछि सेयरमा लगानी गर्नेहरूले मुद्दती निक्षेप नै तोडेर पनि लगानी गर्न थालेका छन्।'
पछिल्लो समय सेयर बजारमा दैनिक कारोबार रकममा भइरहेको वृद्धिले पनि लगानी बढिरहेको पुष्टि गर्छ।
पुस ६ अगाडीसम्म दैनिक एक अर्ब रूपैयाँभन्दा पनि कम रकमको कारोबार भइरहेकोमा पुस ११ गतेयता भने एक पटक मात्रै दुई अर्बभन्दा कम रकमको कारोबार भएको छ।
धेरै जसो लगानीकर्ताहरू यसअघि सेयर बजारलाई लगाइएको कडा नीति सम्बन्धमा राष्ट्र बैंक केही कदम पछि हट्ने सम्भावना देखिरहेका छन्। यही कारण पनि बजार अबका दिनमा खासै नघट्ने ती ब्रोकरको अनुमान छ।
'अहिले यसलाई सामान्य करेक्सनको रूपमा हेर्न मिल्छ,' ती ब्रोकरले भने। राष्ट्र बैंकले गत साउन १८ गते एकीकृत निर्देशिका संशोधन गर्दै यसअघि लगाइएको एकल ग्राहक कर्जा सीमामा संशोधन गरेको थियो। प्रति ग्राहकले एउटा बैंकबाट अधिकतम चार करोडसम्म मात्र सेयर धितो कर्जामा ऋण लिन पाउने व्यवस्थालाई हटाएको थियो।
समग्र बैंकहरूबाट एउटा ग्राहकले अधिकतम १२ करोडसम्म मात्र लिन सकिने व्यवस्था गरेको थियो।
राष्ट्र बैंक यो व्यवस्थामा पनि लचिलो हुने अनुमानमा लगानीकर्ताहरू देखिएका छन्।
त्यस्तै, सोही समय बैंकहरूले सेयर धितोमा गरेको कर्जा लगानी दुई करोड ५० लाखसम्म भए त्यस्तो ऋणलाई सय प्रतिशत बराबर जोखिम मानेर प्रावधान राख्नु पर्ने र दुई करोड ५० लाखभन्दा माथि भए एक सय ५० प्रतिशतसम्म प्रावधान राख्न पर्ने व्यवस्था गरेको थियो। लगानीकर्ताहरू यो व्यवस्थामा पनि राष्ट्र बैंक अब लचिलो हुने अपेक्षामा छन्।
हाल राष्ट्र बैंकले सेयर धितोमा कर्जा दिदा बैंकहरूले प्राथमिक पुँजीको ४० प्रतिशतसम्म सेयर धितोमा कर्जा जारी गर्न सक्ने व्यवस्था छ।
करिब पाँच खर्ब ५४ अर्ब प्राथमिक पुँजी रहेको बैंकहरूले दुई खर्ब २१ अर्ब रूपैयाँसम्म यस्तो कर्जा जारी गर्न सक्ने अवस्था छ।
बैंकहरूले मंसिरसम्म कुल ७५ अर्ब नौ करोड यस्तो कर्जा जारी गरेका छन्। लगानी सीमा उच्च भएपनि राष्ट्र बैंकले यसै सीमा अनुसार कर्जा लागनीको लागि प्रोत्सहान गर्ने गरेको छैन।