राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने भएको छ।
लगानीकर्ताहरू सेयर बजार सम्बन्धमा राष्ट्र बैंकले नीतिमा केही लचिलो हुने अपेक्षा गरेका छन्। सोही कारण आज बिहीबार नेप्से परिसूचक बढेको छ।
लगानीकर्ताहरूले एउटा ग्राहकले अधिकतम १२ करोड रूपैयाँसम्म मात्र कर्जा लिन सक्ने व्यवस्थामा संशोधन हुने, बैंकहरूले सेयर धितोमा गरेको कर्जा लगानीको लागि राखिने जोखिम प्रावधान घटाइने अपेक्षा समेत गर्दै आएका छन्।
यसैबीच, बिहीबार नेप्से परिसूचक १२.४३ अंकले बढेको छ।
यस दिन नेप्से ०.५७ प्रतिशतले बढेर २१८२.६१ बिन्दुमा बन्द भएको छ।
बिहीबार नेप्से परिसूचक बढेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।
गत कारोबार दिन अर्थात् बुधबार ३ अर्ब ६९ करोड १९ लाख ७२ हजार ८१७ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज त्यो रकम घटेर २ अर्ब ६ करोड २० लाख ५८ हजार ७४९ रुपैयाँमा सीमित भएको छ।
बिहीबार २५७ वटा धितोपत्रको ५६ लाख ४८ हजार २१२ कित्ता सेयर किनबेच भएको हो।
बिहीबार बाराही हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। यस दिन उक्त कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६२७ रुपैयाँ पुगेको छ।
यस्तै, विजय लघुवित्तको सेयर मूल्य ५.९२ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ९६६ रुपैयाँ पुगेको छ।
यस दिन सर्वाधिक मूल्य घट्नेमा नबिल ब्यालेन्सड् फण्ड–३ रहेको छ। उक्त योजनाको इकाइ मूल्य ५.७५ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ७ रुपैयाँ ५४ पैसामा झरेको छ।
यस्तै, गुराँस लघुवित्तको सेयर मूल्य ४.१६ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ८३० रुपैयाँ कायम भएको छ।
यस दिन अपि पावरको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ३०२ रुपैयाँमा ५ करोड ८६ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा १.६५ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा नबिल बैंक रहेको छ। उक्त कम्पनीको ६९३ रुपैयाँमा ५ करोड ७३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक ०.१६ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।
यस दिन विकास बैंक समूहको परिसूचक सर्वाधिक १.४६ प्रतिशतले बढेको छ।
त्यस्तै, जलविद्युत समूहको परिसूचक १.०१ प्रतिशतले बढेको हो।