राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको अर्ध-वार्षिक समीक्षामा सेयर बजार सम्बन्धी लिएका नीतिगत कडाइहरू खुकुलो बनाउने आशामा रहेका लगानीकर्ताहरू निराश बनेका छन्। यही कारण आइतबार सेयर बजार परिसूचक नेप्सेमा एक महिना यताकै उच्च गिरावट देखिएको छ।
गत पुस १७ गते एकैदिन ६४.७८ अंकले घटेको नेप्से यस आइतबार पनि ६०.८८ अंकले घटेको छ। राष्ट्र बैंकले सेयर धितोमा एकल कर्जा सीमा बढाएर २५ करोडसम्म पुर्याउने र धितो कर्जाको जोखिमभार समेत घटाइने अपेक्षामा लगानीकर्ताहरू थिए।
यसले सेयर बजारमा कर्जा लगानी बढ्न सक्ने र बजार पनि बढ्दै जाने अपेक्षामा लगानीकर्ताहरू थिए। यही कारण गत बिहीबार नेप्से एकैदिन ७६ अंकले बढेको थियो।
साताको पहिलो कारोबार दिन आज मात्रै नेप्से परिसूचक ६०.८८ अंकले घटेर २१२१.७५ बिन्दुमा पुगेर बन्द भएको हो।
नेप्से परिसूचक घठेपनि आज कारोबार रकम भने बढेको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार २ अर्ब ६ करोड २० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज तीन अर्ब चार करोड ७७ लाख ३९ हजार ८१२ रुपैयाँको सेयर कारोबार भएको हो।
यस दिन २५३ वटा धितोपत्रको सेयर किनबेच हुँदा २०७ वटाको सेयर घटेको छ भने जम्मा ८ वटाको बढेको छ।
आज सबैभन्दा धेरै न्यादी ग्रुप पावरको ६.६० र हिमालयन पावर पार्टनरको ६.४४ प्रतिशतले सेयर मूल्य घटेको छ। आइतबार खप्तड लघुवित्त वित्तीय संस्थाको भने ४.४८ अंकले सेयर मूल्य बढेको छ।
आज सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको सेयर कारोबार भएको छ। कम्पनीको १४ करोड ३७ लाख ६८ हजार ८९५ रुपैयाँको सेयर कारोबार भएको हो। त्यसैगरी न्याग्दी ग्रुप पावरको ११ करोड २९ लाख ११ हजार ४३४ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।