देशको वर्तमान आर्थिक अवस्था र सुधारका संभावित उपायहरूमा केन्द्रीत भइ पूर्व अर्थमन्त्री फोरमको बैठक गत साता सम्पन्न भएको छ।
बैंठकमा अर्थतन्त्रलाई बलियो र दिगो बनाउनका लागि दीर्घकालीन नीतिको तर्जुमा र कार्यान्वयनका विषयमा विशेष छलफल भएको थियो।
त्यसैगरी, वर्तमान आर्थिक अवस्थाको सुधार र स्तरोन्नतिका लागि सुरक्षित एवम् लगानीमैत्री वातावरणको सृजना गर्नुपर्ने, लगानीकर्ताहरूलाई प्रोत्साहन गरिनुपर्ने, मौजुदा नीति नियममा सुधार गरिनुपर्नेमा सहभागी पूर्व मन्त्रीहरूको विशेष जोड रहेको थियो।
विगत केही समयदेखि उत्पन्न तरलताको समस्या र बढ्दो ब्याजदरको कारण आम उद्योग/व्यवसायमा परेको असरका विषयमा समेत चिरफार गरिएको थियो।
नेपाल सरकारको कमजोर पुँजीगत खर्च गर्ने प्रणालीमा व्यापक सुधार गर्न, चालू खर्चमा भएको बढोत्तरीलाई न्यूनीकरण गर्दै मितव्ययीता अपनाउन र विदेशी मुद्रा आर्जन कसरी गर्न सकिन्छ भन्ने विषयमा समेत बैठक केन्द्रीत भएको थियो।
वर्तमान आर्थिक परिदृश्यहरूलाई संवेदनशीलरूपमा लिँदै आगामी बजेटले उद्यमशीलता, लगानी, उत्पादन, रोजगारी र आयात प्रतिस्थापनका विषयमा स्पष्ट वित्तीय नीति अवलम्बन गरिनु पर्नेमा समेत सघन छलफल गरिएको थियो।
बैठकले सबल अर्थतन्त्र निर्माणका लागि उत्पादनमूलक क्षेत्रहरूमा लगानी विस्तार, रोजगारीका अवसरहरूको सृजना, स्वदेशी उत्पादनमा जोड दिँदै स्वदेशी उत्पादनहरूको उपभोग र निर्यातमा प्रोत्साहन, बजारमा देखिएको मुद्रास्फितीको नियन्त्रण, बैंक तथा वित्तीय संस्थाहरूको ऋण असुली र आर्थिक गतिविधिलाई चलायमान बनाउने जस्ता विषयमा मौद्रिक नीतिमार्फत सहजता प्रदान गर्न सुझाव दिने बैठकले निर्णय गरेको थियो।
त्यसैगरी, बैठकले देशको समग्र आर्थिक अवस्थामा देखिएका समस्या तथा चुनौतीहरूको समुचित निकास पहिल्याउनका लागि फोरमको आयोजनामा सरोकारावाला सम्पूर्ण पक्षहरूको सहभागिता हुनेगरी निकट समयमा नै एक वृहत आर्थिक बहस कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको र आवश्यक तयारी समेत अगाडि बढाइसकिएको पूर्व अर्थमन्त्री फोरमका सदस्य सचिव विमल केडियाले जानकारी गराए।
उक्त बैंठकमा पूर्व अर्थमन्त्रीहरू डा. सुरेन्द्र पाण्डे, डा. युवराज खतिवडा, डा. प्रकाशचन्द्र लोहनी, अर्थ सचिव तोयम राया, नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीलगायतको सहभागिता रहेको थियो।