इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले भुक्तानी सम्बन्धी कारोबारहरूलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीहरू प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सम्झौता गरेको छ।
सम्झौता पत्रमा इन्फिनिटी लघुवित्तका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रबिन कुमार लामा र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन्।
उक्त सम्झौतापछि इन्फिनिटी लघुवित्तको आन्तरिक भुक्तानी प्रणालीलाई एनसिएचएलको नेशनल पेमेन्ट इन्टरफेससँग जोडी नेशनल पेमेन्ट स्वीच (एनपिएस) अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न सकिनेछ।
यस अन्तर्गत इन्फिनिटी लघुवित्तले एनसिएचएल आइपीएस र आरपिएस, कनेक्ट आइपिएस प्रणालीहरूमार्फत आफ्ना बचत निक्षेप, कर्जाको किस्ता संकलन लगायतका विभिन्न संकलनका करोबारहरू तथा तलब, भेण्डर भुक्तानी, कर्जा निकासा, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषका भुक्तानी लगायतका विभिन्न प्रकारका भुक्तानी सम्बन्धी कारोबारहरू आफ्ना तथा लाभग्राहीहरूका बैंक खाताहरूबीच सोझै गर्न सक्नेछन्।
एनसिएचएलका विभिन्न भुक्तानी प्रणालीहरूको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपिआइमा हाल ५५ सदस्य बैंक वित्तीय संस्थाहरू आबद्ध छन् भने अन्य पिएसपी/पिएसओ, रेमिटेन्स कम्पनीहरू, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध-सरकारी संस्थाहरू लगायतका ८० गैर-बैंकिङ संस्थाहरू इन्डाइरेक्ट÷प्राविधिक सदस्यका रूपमा आबद्ध छन् ।