ब्रोकरहरूले शाखा खोलेपिच्छे एक करोड ५० लाख रूपैयाँको दरले चुक्ता पुँजी वृद्धि गर्नुपर्ने भएको छ।
हाल शाखा कार्यालय खोलिसकेका ब्रोकर कम्पनीहरूले पनि अबको ६ महिनाभित्र यो निर्देशन अनुसार चुक्ता पुँजी वृद्धि गर्नुपर्ने भएको हो।
धितोपत्र बोर्डले जारी गरेको ब्रोकरले शाखा कार्यालय खोल्ने सम्बन्धी निर्देशिकामा यस्तो व्यवस्था गरिएको छ।
ब्रोकरको मुख्य कार्यालय सरकारले तोकेको दुर्गम क्षेत्रमा रहेमा सो बाहेक अन्य स्थानमा मुख्य कार्यालय रहेमा शाखा खोल्न भने नपाइने भएको छ।
शाखा खोल्न चहाने ब्रोकरको नेटवर्थ खुद सम्पत्ति चुक्ता पुँजीभन्दा धेरै हुनु पर्नेछ। यस्तो नेटवर्थ सम्बन्धी विवरण चार्टर्ड एकाउन्टेन्ट संस्थाका सदस्य रहेका चार्टर्ड एकाउन्टेबाट प्रमाणित भएको हुनुपर्नेछ।
एक पटक बोर्डबाट स्वीकृति पाएर शाखा खोल्न नसक्ने ब्रोकरले त्यसपछि एक वर्षसम्म शाखा खोल्न अनुमति दिन पाउने छैन।
सम्पत्ति शुद्धीकरण कानुन अन्तर्गत ब्रोकर सञ्चालक वा कार्यकारी प्रमुख सजाय पाएको अवस्थामा त्यसरी सजाय पाएको मितिले एक वर्षसम्म शाखा खोल्न नपाउने व्यवस्था गरिएको छ।
शाखा कार्यालयबाट दिइने सेवा, कारोबार प्रणलाी, राफसाफ लगायतको सम्पूर्ण जिम्मेवारी मुख्य कार्यालयमा रहने व्यवस्था गरिएको छ।