सामुदायिक लघुवित्त वित्तीय संस्था र किसान लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन्।
सामुदायिक लघुवित्तको मंगलबार बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र ११.०५ प्रतिशत नगद लाभांश (कर प्रयोजन समेत) कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।
हाल कम्पनीको चुक्ता पुँजी १३ करोड २० लाख रुपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिने भएको हो।
गत वर्ष भने कम्पनीले ३२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.६८ प्रतिशत नगद गरी कुल ३३.६८ प्रतिशत लाभांश दिएको थियो। गत वर्षको तुलनामा कम्पनीले लाभांश दर घटाएको छ।
यस्तै, किसान लघुवित्त वित्तीय संस्थाले यस वर्ष ७.३६ प्रतिशत लाभांश दिने भएको छ।
कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
हाल कम्पनीको चुक्ता पुँजी ४७ करोड १३ लाख ७० हजार ५३० रुपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो।
गत वर्ष यस कम्पनीले भने २० प्रतिशत बोनस सेयर वितरण गरेको थियो। यस कम्पनीले पनि गत वर्षको तुलनामा लाभांश दर घटाएको छ।
दुवै कम्पनीको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीहरूको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीहरूले पाउनेछन्।