बागमती प्रदेशमा विभिन्न ६ वटा जलासययुक्त जलविद्युत आयोजनाको पहिचान भएको छ।
यी जलविद्युत आयोजनाबाट मात्रै चार हजार ७६२ मेगावाट बिजुली उत्पादन गर्न सक्ने क्षमता भए पनि उत्पादन हुन सकेको छैन।
बागमतीमा सम्भावित जलासययुक्त जलविद्युत आयोजनामा खिम्ती शिवालय स्टोरेज पनि एक हो। यसको विद्युत उत्पादन क्षमता एक हजार ७२० मेगावाट छ।
त्यस्तै, ११० मेगावाटको कोखाजोर स्टोरेज, ८० मेगावाटको मनहरी खोला पनि बागमतीमा सम्भावित जलासययुक्त आयोजना हुन्।
सुनकोशी दोस्रो एक हजार ११६ मेगावाट, सुनकोसी तेस्रो ५३६ मेगावाट र बुढिगण्डकी १२०० मेगावाट पनि हुन्।
बागमतीमा पर्याप्त बिजुली उत्पादन क्षमता देखिएको छ। बागमती प्रदेशमा जलासयसहित १९१ जलविद्युत आयोजनाबाट ११ हजार ४०७.८३ मेगावाट बिजु्ली उत्पादन गर्न सकिने देखिएको छ।
तर हाल ४३ वटा आयोजनाहरू मात्रै सञ्चालन छन्। यी आयोजनाबाट ९८३ मेगावाट बिजुली मात्रै उत्पादन हुँदै आएको छ।
सरोकारवालाहरूले क्षमताअनुसारको बिजुली उत्पादन गर्न सके प्रदेश समृद्ध बन्ने विश्वास व्यक्त गरे।
स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान) का कार्यसमिति सदस्य प्रकाश दुलालले जलविद्युतले बागमती प्रदेशको दिगो विकासमा उल्लेख्य भूमिका खेल्ने बताए।
बागमतीमा जलविद्युतको प्रचुर सम्भावना रहेकाले सरकारले यसमा ध्यान दिनुपर्ने उल्लेख गरे।
उनका अनुसार बागमतीले पाँच वर्षभित्र तीन हजार मेगावाट जलविद्युत उत्पादन गर्ने हो भने सरकारले वार्षिक ३० करोड रोयल्टी प्राप्त गर्ने बताए।
हाल बागमतीमा दुई हजार १९३.५ मेगावाटका ६५ आयोजनाको उत्पादन लाइसेन्स जारी भइसकेको छ। १३ आयोजनाले एक हजार ११२ मेगावाट बिजु्ली उत्पादनका लागि लाइसेन्स आवेदन दिएका छन्।
४२१.५ मेगावाट बिजुली उत्पादन गर्ने गरी १८ आयोजनाका लागि सर्वे लाइसेन्स जारी भएको छ। भने दुई आयोजनाले सर्वे लाइसेन्सका लागि आवेदन दिएका छन्।