नेपाल राष्ट्र बैंकले बुधबार लघुवित्त संस्थाहरूको सुशासन र ऋणमा देखिएको समस्या समाधान गर्न एकीकृत निर्देशिका संशोधन गरेको छ।
राष्ट्र बैंकले लघुवित्त कम्पनीहरूको बोनस वितरणको सीमा घटाएसँगै लघुवित्तको सेयरमा बिक्री चाप बढेको छ भने लघुवित्तको सेयरमूल्य घटेको छ।
संशोधित व्यवस्थाअनुसार अब वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा १५ प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नु पर्नेछ।
लाभांश लिन योग्य रकम १५ प्रतिशतभन्दा माथि भएमा त्यस्तो रकमको ५० प्रतिशत जगेडा कोषमा जम्मा गरेर बाँकी ५० प्रतिशतको मात्रै लाभांश वितरण गर्नुपर्ने भएको हो।
यसअघि वार्षिक २० प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा २० प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्ने व्यवस्था थियो।
बिहीबार साढे १ बजेसम्म २२ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतका दरले घटेको छ भने १३ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको छ।
यस दिन स्वावलम्बन लघुवित्त, समीट लघुवित्त, स्वरोजगार लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, सुर्योदय वोमी लघुवित्त, मेरो माइक्रोफाइनान्स, नेशनल माइक्रोफाइनान्स, आरएसडिसी लघुवित्त, माहुली लघुवित्त, आरम्भ चौतारी लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेको छ।
यस्तै, उन्नति सहकार्य लघुवित्त, वीन नेपाल लघुवित्त, इन्फिनिटी लघुवित्त, आधिखोला लघुवित्त, महिला लघुवित्त, जीवन विकास लघुवित्त, राष्ट्र उत्थान लघुवित्त, जाल्पा समुदायिक लघुवित्त, नेष्डो समृद्ध लघुवित्त, आदर्श लघुवित्त, धौलागिरि लघुवित्त र श्रीजनशिल लघुवित्तको सेयर पनि १० प्रतिशतले घटेको हो।
लघुवित्तको सेयर बिक्री गर्ने बिक्रीकर्ता धेरै भएपनि खरिदकर्ता नहुँदा सेयरमूल्य उच्च दरमा घटेको हो। जसको नकारात्मक प्रभाव सेयर बजारमा परेको छ।
बिहीबार साढे १ बजेसम्म नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ६१ अंकले घटिसकेको छ। यस अवधिमा परिसूचक २०१९.३७ बिन्दुमा पुगेको छ।