बुटवलमा केन्द्रीय कार्यालय रहेको डेभलपमेन्ट बैंक शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक १४औं वर्ष पूरा गरी १५औं वर्षमा प्रवेश गरेको छ।
२०६५ साल फागुन ११ गते बुटवलको ट्राफिक चोकबाट सञ्चालनमा आएको बैंकले १४ वर्षको अवधिमा ८८ वटा शाखा, एउटा एक्सटेन्सन कार्यालय र १६ स्थानमा एटिएममार्फत ६ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ।
प्रदेश १ र मधेश प्रदेश बाहेक पाँच वटा प्रदेशका २० जिल्लामा शाखा विस्तार गरिसकेको बैंकका अध्यक्ष थानेश्वर पौडेलले बताए।
८८ वटा शाखामध्ये ७२ वटा शाखा लुम्बिनी प्रदेशका १० वटा जिल्लामा मात्रै रहेका छन् लुम्बिनीका रोल्पा र रुकुम पूर्व बाहेक १० वटै जिल्लामा शाखा विस्तार गरी सेवा दिइरहेको उनले बताए।
त्यस्तै, बागमती प्रदेशमा काठमाडौंमा ६ वटा शाखा विस्तार गरेको छ भने चितवन, ललितपुर र भक्तपुरमा एक/एक वटा शाखा रहेका छन्। बैंकले कैलालीमा २ वटा र कास्की, बाग्लुङ, नवलपुर, कञ्चनपुर र सुर्खेतमा एक/एक वटा शाखा विस्तार गरेको छ।
प्रदेश नम्बर १ र मधेश प्रदेश बाहेकका सबै प्रदेशमा बैंकको पहुँच पुगेको छ। लुम्बिनी प्रदेशको बुटवलमा केन्द्रीय कार्यालय रहेकाले अधिकांश शाखा सञ्जाल लुम्बिनी प्रदेशमा नै केन्द्रीत छन्।
बैंकले उपत्यकामा पनि आफ्नो सेवा विस्तार गरिसकेको छ। गत वर्ष मात्रै बैंकले दर्जन बढी शाखा कार्यालय काठमाडौं उपत्यकामा सञ्चालनमा ल्याएको हो।
अध्यक्ष पौडेलले बैंकले आवश्यकता हेरेर मात्रै शाखा विस्तार गर्दै आएको बताए।
समुदायले गरेको विश्वास र लगानीकै कारण चारजना कर्मचारीबाट सुरू गरिएको बैंकमा हाल ९८७ जना कर्मचारी कार्यरत रहेका उनले बताए।
बैंकका कार्यकारी अधिकृत प्रकाश पौडेलले बैंकलाई २१औं शताब्दीको बैंक कस्तो हुनुपर्छ भन्ने उदाहरण बनाउन चाहेको उल्लेख गर्दै त्यसको लागि प्रविधिका सबै विधिहरू प्रयोग गरिरहेको बताए।
'डिजिटल प्रविधिको विकाससँगै प्रविधिका सबै विधिहरू प्रयोग गरिरहेका छौं, हरेक ग्राहकले शाइन रेसुङ्गा नै छनोट गरोस् भन्ने हाम्रो चाहना हो,' पौडेलले भने। सोही अनुरुप क्रेडिट कार्ड समेत प्रयोगमा ल्याइएको उनले बताए।
पौडेलका अनुसार स्थापनाको समयमा १० करोड चुक्ता पुँजीबाट सुरू गरिएको बैंकको हालको चुक्ता पुँजी ४ अर्ब २८ करोड रुपैयाँ र जारी पुँजी ५ अर्ब रुपैयाँ पुगेको छ।
बैंकले व्यापार, कृषि, उद्योग, होटल तथा पर्यटन क्षेत्रमा कुल कर्जाको ५७.४० प्रतिशत कर्जा लगानी गरेको उनले दाबी गरे।
जसमा व्यापारतर्फ २१.८० प्रतिशत, कृषि क्षेत्रमा ७.१२ प्रतिशत, होटल तथा पर्यटनतर्फ १५.६९ प्रतिशत र लघु, घरेलु तथा साना उद्यम व्यवसाय क्षेत्रमा १२.७९ प्रतिशत कर्जा लगानी गरेको छ।
कार्यकारी अधिकृत पौडेलले बैंकहरूले ग्राहकहरूलाई खाता खोल्ने बाहेक वित्तीय साक्षरता बारे बुझाउन नसक्दा डिजिटल कारोबारमा ग्राहकहरू अभ्यस्त नभएकोले डिजिटल कारोबार सम्बन्धी साक्षरतलाई अभियानको रुपमा सञ्चालन गर्ने जनाए।
त्यस्तै, स्वदेशमै उद्यमशिलता विकास गरी युवाहरूलाई उद्यमी बनाउन उद्देश्यले रुपन्देही, नवलपरासी र कपिलवस्तुका ३३ वटा क्याम्पसहरूमा अध्ययनरत विद्यार्थीहरूलाई उद्यमशिलता विकास सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ।
शाइन डेभलपमेन्ट बैंकको नामबाट सुरू गरिएको बैंकले समयको माग अनुसार हालसम्म चारवटा बैंकसँग मर्जर गरी बुटवलमा एकमात्र मुख्य कार्यालय रहेको र ठूलो विकास बैंकको रुपमा आफूलाई स्थापित गरेको छ।
२०६९ साल चैत्र ४ गते गुल्मीको रेसुङ्गा विकास बैंकसँग मर्जर गरी शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक नामाकरण गरिएको थियो।
त्यसपछि २०७३ साल जेठ २९ गते प्यूठानको गौमुखी विकास बैंक र २०७६ साल असोज २७ गते भैरहवाको पूर्णिमा र नेपालगञ्जको भार्गव विकास बैंकलाई गाभेपछि राष्ट्रिय स्तरको विकास बैंकको रुपमा स्तरोन्नति भएको थियो।
यसैबीच, बैंकले यस वर्षको उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार बुटवलका पत्रकार माधव नेपाललाई प्रदान गरेको छ।
५० हजार १११ रुपैयाँ राशीको उक्त पुरस्कार बैंकको १५औं वार्षिकोत्सवको अवसरमा पत्रकार नेपाललाई प्रदान गरिएको हो।
नेपाल पत्रकार महासंघ रुपन्देहीसँगको सहकार्यमा हरेक वर्ष आर्थिक क्षेत्रमा कलम चलाउने एकजना पत्रकारलाई पुरस्कृत गर्ने उद्देश्यले बैंकले पत्रकार महासंघ रुपन्देहीमा पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ। दुई दशकदेखि पत्रकारितामा क्रियाशील पत्रकार नेपाल बिबिसी नेपाली सेवामा कार्यरत छन्।
यस्तै, वार्षिकोत्सवको अवसरमा बैंकले गुल्मीको बलेटक्सार शाखालाई उत्कृष्ट ग्रामीण शाखा र तिलोत्तमाको ज्योतिनगर शाखालाई उत्कृष्ट शहरी शाखाको रुपमा पुरस्कृत गरेको छ।