पुँजी बजारको विषयमा रिपोर्टिङ गर्दै आएका आर्थिक पत्रकारलाई क्षमता अभिवृद्धि गर्ने उद्देश्य सहित नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको २ दिने परीक्षण कार्यक्रम सम्पन्न भएको छ।
नाफिजले नेपाल स्टक एक्सचेन्ज (नेप्से), सिडिएस एन्ड क्लियरिङ र स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालसँगको सहकार्यमा शुक्रबारदेखि काभ्रे पनौतीस्थित डाइमन्ड हिल रिसार्टमा आयोजना गरेको कार्यक्रम शनिबार सम्पन्न भएको हो।
समापान समारोहलाई सम्बोधन गर्दै नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर कार्कीले विश्व अर्थतन्त्रमा आएको मन्दीका कारण नेपाली सेयर बजार पनि प्रभावित भएको बताए।
'अहिले सेयर बजारको परिसुचक किन घटिरहेको छ भनेर प्रश्न आइरहेको छ। यस मामलामा देश भित्रको अवस्था हेरेर मात्रै हुँदैन,' उनले भने, 'कोरोना महामारी, रुस–युक्रेन युद्ध लगायतका कारण विश्व अर्थतन्त्र समस्याग्रस्त भएको छ। त्यसको असरले नेपाली अर्थतन्त्र पनि प्रभावित भएकाले सेयर बजारको परिसूचक घटेको छ।'
यस्तै, सिडिएस एन्ड क्लियरिङका सिइओ पूर्णप्रसाद आचार्यले पुँजी बजारका लागि केन्द्रीकृत ग्राहक पहिचान विवरण (सेन्ट्रल केवाइसी) लागू गर्ने तयारी भइरहेको बताए।
'लगानीकर्तालाई धेरै ठाउँमा केवाईसी भर्नुपर्दा झन्झट र खर्च पनि उत्तिकै मात्रामा भएको छ,' उनले भने, 'सोही अवस्थालाई दृष्टिगत गर्दै पुँजी बजार भित्रको कुनै एक निकायमा केवाईसी भरेपछि, अर्को ठाउँमा केवाइसी भर्न नपर्ने गरि नयाँ प्रविधि ल्याउने तयारी गरीरहेका छौ।'
नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएपछि यस्तो व्यवस्था लागू हुने उनले बताए। उनले अक्सन मार्केट सञ्चालन गर्न कार्यविधि बनाएर नेपाल धितोपत्र बोर्डमा स्वीकृतिको लागि पेश गरेको पनि जानकारी दिए।
'अक्सन मार्केट कार्यविधि सञ्चालन सम्बन्धी धितोपत्र बोर्डमा पेश गरेपनि स्वीकृति हुन ढिलाई भएको हो। यसमा केही गाह्रो पनि भएको छ,' उनले भने, 'कार्यविधि स्वीकृत भएर आएपछि अक्सन मार्केट पनि सञ्चालन हुनेछ।'
स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष धर्मराज सापकोटाले सेटलमेन्ट ग्यारेन्टी फन्ड नहुँदा पनि ब्रोकर कम्पनीहरूले लगानीकर्ताको भुक्तानी समयमा गर्दै आएको बताए।
'नेपालको पुँजी बजारको इतिहासमा एकैदिन २२ अर्ब रुपैयाँसम्मको सेयर कारोबार हुँदा पनि ब्रोकर कम्पनीहरूले सहज रुपमा समयमै राफसाफ गरेका थिए। तर, अहिले ब्रोकर कम्पनीले भुक्तानी दिँदैनन् भनेर विभिन्न आक्षेप पनि लाग्ने गरेको छ,' कार्यक्रममा बोल्दै उनले भने, 'सेटलमेन्ट ग्यारेन्टी फण्ड नहुदाँ समेत ब्रोकरले भुक्तानीमा ढिलाई गरेका छैनन्, यो बुझ्न आवश्यक छ।'
सापकोटाले थपे 'विदेशमा कतिपय ब्रोकर कम्पनीहरु राफसाफ नगरेर भागेको इतिहास छ। तर, नेपालीको हक आजसम्म प्राविधिक कारणले बाहेक कुनै पनि सेयर कारोबारको राफसाफ नभएको इतिहास छैन।'
यसैगरी सेटलमेन्ट ग्यारेन्टी फन्ड र अक्सन मार्केट नहुदाँ ब्रोकरहरू मारमा परेको उनको भनाइ छ।
समापन समारोहमा नाफिजका अध्यक्ष मोदनाथ ढकालले पुँजी बजारबारे रिपोर्टिङ गर्दै आएका पत्रकारलाई यो कार्यक्रम उपयोगी भएको बताए।
‘यद्यपि, यो अझै पर्याप्त छैन। पुँजी बजारका विषयमा अझै धेरै आयामहरू बाँकी नै छन्। तथ्यांकहरुबारे सिक्न बाँकी नै छ,’ उनले भने, ‘यो कार्यक्रमले पुँजी बजारबारे समाचार लेख्दै आएका पत्रकारलाई धेरै कुरा सिकाएको छ।’
विशेषगरी पत्रकारलाई पुँजी बजारका नीति नियमन, अभ्यास तथा प्रविधिबारे जानकारी राख्न सहयोग पुगेको उनको भनाइ छ। साथै, पत्रकारहरूलाई तालिममा सिकेका कुरालाई पेशागत जीवनमा लागू गर्नुपर्ने उनले बताए।
शनिबारको पहिलो सत्रमा ‘केन्द्रीय निक्षेप तथा राफसाफ सेवा विद्यमान अवस्था, सम्भावना र चुनौतीको विषयमा पत्रकारलाई प्रशिक्षण दिइएको थियो। उक्त सत्रलाई सिडिएस एन्ड क्लियरिङका सहायक प्रबन्धक योगराज जोशीले प्रशिक्षण दिएका थिए।
यसैगरी दोस्रो शत्रमा स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष सरिता अधिकारीले ‘धितोपत्र व्यवसाय, बिक्री प्रबन्धक, प्रत्याभुतिकर्ता, सिमित र पुर्ण कार्य गर्ने ब्रोकर, स्टक डिलर, लगानी व्यवस्थापन, सामूहिक लगानी योजना, वैकल्पिक लगानी कोष, धितोपत्र व्यवसायको चुनौती’ को विषयमा प्रशिक्षण दिएकी थिइन्।
अन्तिम सत्रमा नेप्सेका सहायक प्रबन्धक मुराहरी पराजुलीले ‘स्टक मार्केट रिपोर्टिङः सेयर बजारको समाचार लेख्दा ध्यान दिनुपर्ने कुराहरू’ विषयमा प्रशिक्षण दिएका थिए।
अघिल्लो दिन ‘धितोपत्र बजार सञ्चालकको भूमिका, नेप्से, लगानीकर्ता, ब्रोकर, सूचीकृत कम्पनीको सम्बन्ध, धितोपत्र औजार, सेटलमेन्ट ग्यारेन्टी फन्ड, अक्सन मार्केट, सेयर बजार इन्डेक्स, नेप्से ५० इन्डेक्स फन्ड’ विषयमा नेप्सेका प्रबन्धक निरञ्जन फुयाँलले प्रशिक्षण दिएका थिए।