राष्ट्र बैंकले प्रकाशित गरेको एक तथ्यांक अनुसार निक्षेपको लागि सर्वसाधारणमा वाणिज्य बैंकहरूको निर्भरता ६० प्रतिशत मात्रै छ।
यसको अर्थ अहिले पनि बैंकहरूको निक्षेप स्रोतमा संस्थाहरूले राख्ने निक्षेपको हिस्सा ४० प्रतिशत छ। गत पुसअन्त्यसम्ममा बैंकहरूको कुल निक्षेप ४७ खर्ब १६ अर्ब रूपैयाँ रहेकोमा सर्वसाधारणको भने २८ खर्ब ४८ अर्ब रूपैयाँ छ।
२२ वाणिज्य बैंकमा १२ वटामा मात्रै सर्वसाधारणको निक्षेपको हिस्सा ६० प्रतिशतभन्दा माथि छ। नेपाल बैंक, सानिमा बैंकमा यसरी सर्वसाधारणको निक्षेप हिस्सा सबैभन्दा धेरै छ।
संस्थागत निक्षेपको तुलनामा सर्वसाधारणको निक्षेप हिस्सा धेरै हुने बैंकलाई तरलताको समस्या तुलनात्मक रुपमा कम पर्ने र निक्षेप गुम्ने डर कम हुने मानिन्छ।
कुल निक्षेपमा संस्थागत निक्षेपको सीमा नतोकेको राष्ट्र बैंकले कुनै एउटा संस्था, फर्मबाट लिन पाउने निक्षेपमा भने सीमा तोकेको छ।
राष्ट्र बैंकले जारी गरेको एकिकृत निर्देशिका अनुसार बैंक तथा वित्तीय संस्थाले कुनै एउटा फर्म, कम्पनी वा संगठित संस्थाबाट आफ्नो कुल निक्षेपको बढीमा १० प्रतिशतसम्मको सीमामा नबढ्ने गरी मात्र संस्थागत निक्षेप लिन पाउने व्यवस्था गरेको छ।
त्यस्तै, राष्ट्र बैंकले संस्थागत मुद्धति निक्षेपको लागि दिने ब्याजदर सर्वसाधारणको लागि मुद्धति खातामा दिने ब्याजदरभन्दा कम्तिमा दुई प्रतिशत कम दिनुपर्ने व्यवस्था समेत गरेको छ।