सेयर बजार परिसूचक नेप्से लगातार पाँचौं कारोबार दिन घटेको छ। साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ३०.७७ अंकले घटेर १९३८ विन्दुमा आइपुगेको हो।
यी पाँच दिनमा नेप्सेले ८९ अंक गुमाइसकेको छ। बजार यसअघिको न्यून विन्दु १८६४ भन्दा मात्रै ७४ अंकको दुरीमा छ। गत पुस सात गते नेप्से यो विन्दुमा थियो।
पछिल्लो पाँच दिनदेखि बजारमा दैनिक कारोबार रकम समेत दुई अर्बभन्दा कम हुन थालेको छ। आइतबार भने एक अर्ब ३९ करोड रूपैयाँको कारोबार भयो। विहीबारको तुलनामा भने कारोबार रकम ४.५१ प्रतिशतले कम हो। बिहीबार एक अर्ब ३३ करोड रूपैयाँको कारोबार भएको हो।
मुलुकको अर्थतन्त्रमा समस्या कायमै रहेको र बजारमा पैसाको प्रवाहमा कमि आएकोले बजारले वृद्धि समात्न नसकेको हो। त्यस्तै, लाभांशको मौसम पनि सकिएकोले बजार लगानीकर्ताहरू अहिले सकारात्मक खबरको पखाईमा छन्।
बजार उच्च तहमा रहँदाको तुलनामा हाल लगानीकर्ताहरूको सम्पत्तिमा करिब ५७ प्रतिशतले ह्रास आइसकेको छ। कुल बजार पुँजीकरण ४४ खर्बभन्दा धेरै रहेकोमा आइतबार यस्तो रकम २८ खर्ब रूपैयाँमा सीमित भएको छ।
आइतबार कारोबार आएका २५९ सेयर तथा ऋणपत्रमध्ये ३४ वटाको मूल्य बढेको छ भने २१७ वटाको मूल्य घटेको छ।
हिमालयन डिष्टिलरी, शिवम् सिमेन्टको सबैभन्दा धेरै रकमको कारोबार भइरहेको छ।
सुपर मादी हाइड्राको सबैभन्दा धेरै १० प्रतिशतले मूल्य बढेर सर्किट ब्रेक लागेको छ। कम्पनीको सेयर २९ रूपैयाँले बढेर ३२८ पुगेको छ। सबैभन्दा धेरैले मूल्य घट्नेमा सामलिङ पावर रहेको छ। कम्पनीको मूल्य १० प्रतिशतले घटेर अन्तिम कारोबार ५१३ रूपैयाँमा भएको छ।