कुनै बेला सेयर किन्दा त्यसको प्रमाणपत्र हातैमा आउँथ्यो। अचेल सेयर खरिदको प्रमाणपत्र दिने चलन छैन। प्रमाणपत्रको स्थान सेयरको विद्युतीय अभिलेख राखिने खाता 'डिम्याट एकाउन्ट' ले लिएको छ।
भन्नुको मतलब, तपाईंले सेयर किन्न वा बेच्न सबभन्दा पहिला सेयर ब्रोकर वा बैंकहरूमार्फत् डिम्याट खाता खोल्नुपर्छ र त्यही खाताका माध्यमबाट कारोबार गर्नुपर्छ।
यसरी सेयर कारोबार गर्न अहिलेसम्म ५५ लाख ८० हजार २ सय ७२ वटा डिम्याट खाता खोलिएका छन्। तर रोचक कुरा के भने, यीमध्ये ३० प्रतिशतभन्दा बढी खातामा एक कित्ता पनि सेयर छैन। त्यो भनेको १७ लाख ६३ हजार १ सय १३ वटा डिम्याट खाता निष्क्रिय छन्।
नेप्सेको सहायक कम्पनी सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले पछिल्लो समय निष्क्रिय रहेका डिम्याट खाता बन्द गर्ने तयारी गरेको छ। सिडिएससीले डिम्याट खाता व्यवस्थापन र राफसाफ गर्दै आएको छ।
यस्तो निष्क्रिय खाता राखिरहँदा तथ्यांक गलत हुने भएकाले बन्द गर्ने तयारी गरेको सिडिएससीका प्रवक्ता सुरेश न्यौपाने बताउँछन्।
अहिले खोलिएका सबै डिम्याट खाता हेर्ने हो भने ५५ लाखभन्दा बढी सेयर लगानीकर्ता देखिन्छ। तर वास्तविक लगानीकर्ता त्यति हुँदैनन्। जबकि टाठाबाठा लगानीकर्ताले त्यही ५५ लाखको संख्या देखाउँदै सरकार र नियामक निकायहरूलाई दबाब दिँदै आएका छन्। आमनिर्वाचनअघि सेयर बजार नबढेको भन्दै केही लगानीकर्ताले सरकार वा राजनीतिक दललाई 'पुँजीविरोधी' भन्दै बहिष्कार गर्ने कार्यक्रम चलाएका थिए। यस्ता उदाहरण अरू पनि छन्।
यसरी सेयर लगानीकर्ताको वास्तविकभन्दा ठूलो तथ्यांक देखाएर दबाब सिर्जना गर्ने प्रवृत्ति अन्त्य होस् भनेर सिडिएससीले निष्क्रिय खाता बन्द गर्न खोजेको हो।
निष्क्रिय खाता बन्द गर्नु त्यति सहज भने छैन।
पहिलो कुरा, कुन-कुन खातावाला लगानीकर्ता कहिलेदेखि सम्पर्कमा छैनन् भन्ने जानकारी नै सिडिएससीसँग छैन। प्रवक्ता न्यौपाने अहिले यस्तो जानकारी बटुल्ने तयारी गरिरहेको बताउँछन्। तर त्यो कहिलसम्म प्राप्त हुन्छ यकिन छैन।
अर्को कुरा, त्यस्तो जानकारी प्राप्त भएको अवस्थामा पनि सिडिएससीले तुरून्तै खाता बन्द गर्न सक्दैन। एकचोटि खुलेको डिम्याट खाता कुनै नीतिगत व्यवस्था नगरी हचुवा भरमा बन्द गर्न मिल्दैन। त्यसैले खाता बन्द गर्ने प्रक्रिया सुरू गर्नुअघि सिडिएससीले त्यससम्बन्धी नीतिगत व्यवस्था गर्नुपर्ने देखिन्छ।
सिडिएससीको निम्ति नीतिगत व्यवस्था गर्नु ठूलो कुरा होइन। उसले अहिलेदेखि नै मस्यौदा तयार पारेर धितोपत्र बोर्डबाट पारित गराउने प्रक्रिया अघि बढाउन सक्छ। बोर्ड सकारात्मक भयो भने त्यो नीतिगत व्यवस्था पारित भई कार्यान्वयनमा आउन समस्या हुँदैन।
मुख्य समस्या अर्कै छ। त्यो हो, टुक्रे (फ्रयाक्सन) सेयरको व्यवस्थापन।
एक कित्ताभन्दा कम सेयरलाई टुक्रे सेयर भनिन्छ। यहाँ तपाईंहरूलाई एक कित्ताभन्दा कम सेयर पनि हुन्छ र भन्ने लाग्ला! जब तपाईंले किनेको सेयरबापत् कम्पनीले बोनस सेयर दिन्छ, त्यस्तो अवस्थामा तपाईंले प्राप्त गर्ने सेयर एक कित्ताभन्दा कम हुनसक्छ। कुनै लगानीकर्ताले कम्पनीबाट प्राप्त गर्ने त्यस्तो एक कित्ताभन्दा कम सेयर सिधै डिम्याट खातामा जाँदैन।
मानौं, कुनै लगानीकर्तासँग कुनै कम्पनीको १० कित्ता सेयर छ। कम्पनीले ८ प्रतिशत बोनस सेयर दियो भने अब ती लगानीकर्ताले एक कित्ताभन्दा कम अर्थात् ०.८ कित्ता सेयर पाउँछ। यस्तो सेयर तबसम्म लगानीकर्ताको खातामा हालिँदैन, जबसम्म त्यो एक कित्ता बराबर पुग्दैन।
त्यसैले अहिले एक कित्ता पनि सेयर नभएका १७ लाख ६३ हजार १ सय १३ वटा डिम्याट खातामा भोलि यस्तो थोरै थोरै सेयर थपिँदै एक कित्ता पुगेपछि जम्मा हुन सक्छ। तर यसरी सेयर जम्मा हुन बाँकी डिम्याट खाता कति छन् भन्ने तथ्यांक सिडिएससीसँग छैन। यो तथ्यांक उपलब्ध नभएसम्म सिडिएससीलाई निष्क्रिय खाता बन्द गराउन गाह्रो छ।
यो समस्या सिडिएससीका प्रवक्ता न्यौपाने स्वीकार गर्छन्।
'एक कित्ताभन्दा कम सेयर पाएकाहरूको खातामा त्यस्तो टुक्रे सेयर जम्मा भइसकेको हुँदैन। यसको समाधान नहुँदासम्म खाता बन्द गर्न सकिँदैन,' उनले भने, 'कतिपय कम्पनीले लगानीकर्ताहरूले प्राप्त गर्ने एक कित्ताभन्दा कम सेयरलाई नगद लाभांशमै समायोजन गरेर दिने गरेका छन्। तर यसो गर्दा कम्पनीको चुक्ता पुँजीको तथ्यांक फरक पर्छ, त्यसैले यो विकल्प पनि काम लाग्ने देखिँदैन।'
कम्पनीहरूले टुक्रे सेयर लगानीकर्तालाई वितरण नगरेर आफैंले बिक्री गरिदिने हो भने समस्या समाधान हुने उनी बताउँछन्।
'लगानीकर्ताको तहमा पुग्दा मात्रै यस्ता सेयर टुक्रे हुने हो, कम्पनीसँग हुँदा टुक्रा हुँदैन,' न्यौपानेले भने, 'त्यसैले यस्तो सेयर कम्पनीले सेयर बजारमा वा बोलकबोल प्रक्रियाबाट बेचेर लगानीकर्तालाई रकम नै दिने हो भने सजिलो हुन्छ।'
यसलाई अझ प्रस्ट पार्न न्यौपानेले उदाहरण दिए, 'दस अर्ब रूपैयाँ चुक्ता पुँजी भएको कम्पनीको कुल सेयर १० करोड कित्ता हुन्छ। त्यो कम्पनीले ८ प्रतिशत बोनस सेयर दियो भने लगानीकर्तालाई थप ८० लाख कित्ता बाँड्नेछ। व्यक्तिको तहमा पुग्दा भने १० कित्ता सेयर हुनेले ०.८ कित्ता सेयर मात्र पाउँछ। त्यसैले जुन सेयर व्यक्तिको तहमा पुग्दा टुक्रा हुन्छ, त्यो कम्पनीको तहमा टुक्रे अवस्थामा हुँदैन।'
२०७२ सालदेखि सेयर कारोबार गर्न डिम्याट खाता अनिवार्य गरिएको हो। कम्पनीहरूले पहिलोपटक जारी गरेको सेयरमा आवेदन दिन पनि सर्वसाधारणले डिम्याट खाता खोल्नुपर्छ। पुगेसम्म प्रतिआवेदक कम्तिमा १० कित्ता सेयर दिनैपर्ने व्यवस्था छ।
सेयरमा आवेदन दिन धेरैले डिम्याट खाता खोलेका हुन्छन्। पछिल्लो समय सेयर आवेदकको संख्या उच्च हुने गरेकाले कतिपयलाई आवेदन दिएको सेयर पर्दैन। सेयर नपरेको अवस्थामा खाता खाली रहन्छ। खाली खाता बन्द गर्नेभन्दा सम्पर्कमै नरहेका लगानीकर्ताको खाता बन्द गर्ने तयारी भइरहेको प्रवक्ता न्यौपानेको भनाइ छ।