लगातार पाँच दिन ओरालो लागेको सेयर बजार परिसूचक नेप्से छैठौं दिन भने बढेर बजार बन्द भएको छ।
मंगलबार करिब २६ अंकसम्म बढेको नेप्से परिसूचकको वृद्धि अन्तिम समयमा भने १४.४१ अंकमा सीमित भयो।
बजार न्यूनतम बिन्दु आसपास आएसँगै लगानीकर्ताहरू आकर्षित भएका हुन्।
तर, बजारले अझै स्पष्ट प्रवृत्ति देखाउन सकेको छैन। यही कारण बजारमा कारोबार रकम समेत खुम्चिएको छ।
मंगलबार कुल एक अर्ब २० करोड रूपैयाँको कारोबार भएको छ। आइतबारको तुलनामा यो करिब १४ प्रतिशतले कम हो।
यस दिन सुभम पावरको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट ब्रेक लागेको छ। कम्पनीको अन्तिम कारोबार दुई सय ९१ रूपैयाँमा भएको छ।
कारोबारमा आएका दुई सय ६१ सेयर तथा ऋणपत्रमध्ये एक सय ८५ वटाको मूल्य बढेको छ। त्यस्तै, ६१ वटाको मूल्य घटेको छ।
सिवाइसी नेपाल लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ५.१८ प्रतिशतले घटेको छ।
कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये उत्पादनमुलक तथा प्रशोधन मुलक र सामूहिक लगानी कोषको परिसूचक घटेका छन्।
यसदिन साल्ट ट्रेडिङको सबैभन्दा धेरै रकमको सेयर कारोबार भएको छ।