साधारण बचत खाता र कर्जाको ब्याजदर घट्ने भएपछि यसको सकारात्मक प्रभाव सेयर बजारमा परेको छ।
साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ५०.०४ अंकले बढेर २,००२ विन्दुमा पुगेको छ। हालको नजिकैको न्युनतम विन्दु १,९३८ सम्म पुगेर नेप्से परिसूचक फर्किने तयारीमा देखिएको हो।
बजार न्युनतम विन्दुमा आएपछि पनि लगानीकर्ताहरूको आकर्षण बढ्न थालेको हो। यसलाई बैंकले ब्याजदर घटाउने निर्णयले थप टेवा दिएको छ। त्यस्तै, सरकार सञ्चालनको गाँठो खुल्दै जान थालेसँगै पनि बजारले सकारात्मक बाटो समातेको हो।
बजारमा पुसदेखि सुरू हुने बेमौषमको सिजन अन्त्य हुन लागेकोले पनि बजारमा सुधार देखिन थालेको मान्न सकिन्छ। यिनै विविध कारणले बजार उकालो लाग्ने प्रयासमा देखिएको हो।
बजारमा कारोबार रकम समेत ३० प्रतिशतले वृद्धि भएको छ। बुधबार बजारमा एक अर्ब २० करोड रूपैयाँको कारोबार भएकोमा बिहीबार एक अर्ब ५६ करोड रूपैयाँको सेयर किनबेच भएको हो।
बुधबारसम्म पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ताले बिहानैदेखि बजार बढ्न थालेपछि लगानी थपिरहेका देखिन्छन्। सस्तो दरमा आइपुगेका सेयरहरूमा लगानीकर्ताहरूको आकर्षण बढेको छ।
२६२ धितोपत्र तथा ऋणपत्र कारोबारमा आएकोमा १५ वटाको मात्रै मूल्य घटेको छ। यसरी मूल्य घट्नेमा दुई लघुवित्त बाहेक अरू सबै सामूहिक लगानी कोषहरू छन्। त्यस्तै, २३७ वटाको मूल्य बढेर कारोबार भएको छ।
शिवम् सिमेन्ट, हिमालयन डिष्टिलरी, अरुण काबेली, नबिल बैंक लगायतकाको सेयर कारोबार उच्च भएको छ। यस दिन सबैभन्दा धेरै बढ्ने सुभम पावर, नेपाल इन्स्योरेन्स लगायत छन्। धेरै मूल्य बढ्नेमा जलविद्युत् कम्पनीहरू अग्रस्थानमा छन्।