सेयर बजार परिसूचक नेप्से फेरि दुई हजार मुनि आइपुगेको छ। साताको पहिलो दिन आइतबारको कारोबारमा नेप्से परिसूचक २६.८० अंकले घटेर १,९७५ विन्दुमा आइपुगेको हो।
अहिले पनि मुलुकको आन्तरिक आर्थिक अवस्थामा सुधार नआएकोले बजारमा आकर्षण बढ्न नसकेको हो।
अघिल्लो साताको अन्तिम दुई दिन लगातार बढेर दुई हजार माथि उक्लिएको नेप्सेको यस्तो वृद्धि दिगो साबित हुन सकेन। बजार घटेपनि कारोबार रकममा भने वृद्धि देखिएको छ। ६.४१ प्रतिशले कारोबार बढेर एक अर्ब ६६ करोड रूपैयाँ पुगेको हो।
यसदिन कारोबारमा आएका २६० धितोपत्र तथा ऋणपत्रमध्ये ४० वटाको मूल्य बढेर कारोबार भएको छ। २०७ वटाको मूल्य घटेको छ।
शुभम पावरको मूल्य सबैभन्दा धेरै ९.९८ प्रतिशतले बढेर ३५२ पुगेको छ। हिमालयन बैंकको सेयर मूल्य सबैभन्दा धेरै ६.३७ प्रतिशतले घटेको छ।
शिवम् सिमेन्ट, हिमालयन डिष्टिलरीमा अहिले पनि लगानीकर्ताको आकर्षण कायमै छ। यी कम्पनीहरूको सेयर कारोबार क्रमशः आठ करोड २१ लाख रुपैयाँ र पाँच करोड ७५ लाख रुपैयाँ बराबर भएको छ। कारोबारमा आएका सबै समूहगत परिसूचक घटेका छन्।