बैंकहरू प्रति व्यवसायीहरूको आक्रोश थामिएको छैन। प्रदर्शनहरू चलिरहेकै छन्। यहीबीच बैंकहरूले कर्जाको प्रिमियम दर घटाए, साधारण बचतको ब्याजदर पनि घटाए। अब केही समयमै कर्जाको ब्याजदर घट्ने अवस्था बन्न थालेको छ।
के यसले अहिले व्यवसायी र बैंकरहरूबीच देखिएको विवाद अन्त्य होला?
यही प्रश्न हामीले नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानालाई सोधेका छौं।
सेतोपाटीका विजयराज खनालले ढुंगानासँग गरेको कुराकानीको मुख्य बुँदा यस्ता छन्-
- प्रिमियमको रेञ्ज ऋणीको जोखिमको आधारमा कम वा बेसी हुन्छ। एउटै ऋणीले लिने अलगअलग कर्जामा पनि प्रिमियम दर फरक हुन सक्छ। त्यसैले बैंक नजिकका ऋणीले कम प्रिमियममा पाउँछन् भन्नु आरोप मात्रै हो।
- कोभिडपछि सस्तो ब्याजदरमा ऋण पाइरहेकाहरू ब्याजदर थप घट्छ भन्ने अनुमानमा बसे। यही कारण उनीहरू स्थिर दरमा आधारित ब्याजदरमा जान चाहेनन्। अहिले पनि ऋणीहरू सोही समयको ब्याजदर खोजिरहेका छन्। तर यो बैंकको हातमा मात्र हुने कुरा होइन।
- हामीले नचाहिएको कर्जा जबर्जस्ती ऋणीलाई दिएका थियौं भन्ने गलत हो। हामीले उहाँहरूले माग गर्नुभएकै कर्जा दिएका हौं।
- ८ प्रतिशतको ब्याजदर १६ प्रतिशत पुगेको छैन। ११/१२ प्रतिशत पुगेको होला। निश्चित कमाइ हुनेहरूलाई समस्या परेको हुन सक्छ। ब्याजदर बढे पनि यस्ता ऋणीको किस्ता बढाइदिएका छैनौं। समय बढाइदिएर सहज बनाइ दिएका छौं।
- बजारमा अलिअलि तरलता छ। तर कर्जाको किस्ता नियमित हुन सक्ने गरी सहज अवस्था बनेको छैन। अब चैतपछि सार्वजनिक हुने बैंकको वित्तीय विवरणमा खराब कर्जा थप बढ्ने देखिन्छ।
- हरेक वर्ष सबैको बजेट बन्छ। व्यक्तिको, सरकारको र संस्थाहरूको बजेट बन्छ। लक्ष्य पनि लिएको हुन्छ। बैंकहरूको पनि लक्ष्य हुन्छ। तर लक्ष्य पूरा नभएकै कारण बैंकका सिइओहरूको जागिर जाँदैन। लक्ष्य पूरा गर्न हामीले नीतिभन्दा बाहिर जाने वा अन्याय गर्नु भएन।