सेयर बजार परिसूचक नेप्से १.८५ अंकले बढेको छ। सोमबार १९५१ विन्दुमा बन्द भएको बजारको गति अझै स्पष्ट हुँन नसक्दा वृद्धि साघुरिएको हो।
बजार बन्द हुँदा मंगलबार नेप्से परिसूचक १९५३ मा आइपुग्यो। बजारको गति स्पष्ट नहुँदा कारोबार रकम समेत घटेको छ। यसदिन एक अर्ब १३ करोड रूपैयाँको कारोबार भएको हो।
सोमबार एक अर्ब १६ करोड रूपैयाँको सेयर किनबेच भएको थियो। तर, मूल्य बढेर कारोबार हुने कम्पनीको संख्यामा वृद्धि भएको छ।
सोमबार मात्रै ३६ वटा धितोपत्र तथा ऋणपत्रको मूल्य बढेकोमा मंगलबार एक सय ४० वटाको मूल्य बढेको छ। यसदिन कारोबारमा आएका २५५ धितोपत्र तथा ऋणपत्रमध्ये ९५ वटाको मूल्य घटेको छ।
युनिक नेपाल लघुवित्तको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेर एक हजार ३२५ पुगेको छ। एनआइसी एशिया ब्यालेन्स्ड फण्डको मूल्य सबैभन्दा धेरै ५.६४ प्रतिशतले घटेको छ। एनआइसी एशिया र नबिल बैंकको सबैभन्दा धेरै रकमको कारोबार भएको छ। यी बैंकहरूको सेयर कारोबार क्रमशः १० करोड ४८ लाख रूपैयाँ र तीन करोड ४४ लाख रूपैया बराबर भएको छ।