सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको एकीकृत कारोबार फाल्गुन २९ गतेदेखि सुरू भएको छ।
विशेष कार्यक्रमको आयोजना गरी सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) नामबाट एकीकृत कारोबार सुरू गरिएको हो।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि एवं नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल, सगरमाथा इन्स्यारेन्स कम्पनी लिमिटेडका अध्यक्ष रामकृष्ण मानन्धर र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष मनोहर दास मुलले संयुक्त रुपमा गरेका हुन्।
साथै दुबै कम्पनी गाभिएपछिको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थागत लोगो कार्यक्रममा सार्वजनिक गरिएको छ। नवनियुक्त अध्यक्ष मुललाई प्रमुख अतिथि नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले कार्यक्रममा नै प्रमाणपत्र हस्तान्तरण गरेका हुन्।
गत असार ३० गते नै दुवै कम्पनीहरू मर्जरमा जाने प्रारम्भिक सहमति भएपछि तोकिएको समयभन्दा एक महिना अगाडि नै यी दुई कम्पनीहरूको मर्जर प्रक्रियाले पूर्णता पाएको हो।