केही समयदेखि नेप्से बढ्ने प्रयासमा देखिएपनि सफल हुन सकिरहेको छैन।
पछिल्लो समय बैंकहरूले साधारण निक्षेप र कर्जाको प्रिमियम दर घटाएका छन्। तर, अझैपनि मुलुकको आन्तरिक अर्थतन्त्रमा सुधार देखिइनसकेकाले सेयर बजार परिसूचकमा सुधार हुन सकेको छैन।
नेप्से अहिले आएको विन्दु मनोवैज्ञानिक तहको रूपमा छ। यो बिन्दुमा नेप्सेले टेवा परिक्षण गरिरहेको देखिन्छ। बुधवार नेप्से पुनः १,९३८ विन्दुमा आएको छ। यसअघि पनि नेप्से यो तहसम्म पुगेर बढ्न थालेको हो।
यो तहबाट पनि नेप्से घटेमा भने बजार केही समय थप घट्ने सम्भावना छ। नेप्सेले यो तहबाट घटेमा भने १,८५५ को विन्दुमा टेवा पाउनेछ।
बजारले १,९३८ मा टेवा पाउने अपेक्षा बढेसँगै कारोबार रकममा वृद्धि भएको छ। मंगलबार एक अर्ब १३ करोड रूपैयाँको कारोबार भएकोमा बुधबार एक अर्ब २० करोड रूपैयाँको सेयर किनबेच भएको हो।
यस दिन मूल्य बढेर कारोबार हुने कम्पनीको संख्यामा भने कम भएको छ। मंगलबार एक सय ४० वटाको मूल्य बढेकोमा बुधबार मात्रै ६५ वटाको मूल्य बढेको छ।
आज कारोबारमा आएका २५३ धितोपत्र तथा ऋणपत्रमध्ये १६४ वटाको मूल्य घटेको छ।
युनिक नेपाल लघुवित्तको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेर एक हजार ४५८ मा पुगेको छ। किसान लघुवित्त कम्पनीको मूल्य सबैभन्दा धेरै ५.९० प्रतिशतले घटेको छ।
एनआइसी एशिया बैंकको सबैभन्दा धेरै रकमको कारोबार भएको छ। बैंकको १० करोड ३५ लाख रूपैया बराबरको कारोबार भएको छ।