साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा उच्च उतारचढाव देखिएपनि नेप्से बढ्न सकेन।
नेप्से परिसूचक यसअघिको न्यून विन्दु १९३८ मा टेवा परीक्षण गरिरहेको छ। बिहीबार भने नेप्से परिसूचक १९३३ विन्दुमा आएको छ। त्यसैले आइतबार पनि यस्तो परीक्षण कायम रहनेछ।
यो विन्दुभन्दा निकै तल बजार आएमा भने तत्काललाई १८५५ को विन्दुमा नपुगि टेवा पाउने देखिँदैन।
बजारको गति स्पष्ट नहुँदा कारोबार रकममा पनि कमि आएको छ। बुधबार एक अर्ब २० करोड रूपैयाँको सेयर किनबेच भएकोमा बिहीबार एक अर्ब १४ करोड रूपैयाँको कारोबार भएको हो।
यस दिन मूल्य बढेर कारोबार हुने कम्पनीको संख्या भने बढेको छ। बुधबार ६५ वटाको मात्रै मूल्य बढेकोमा बिहीबार भने १०९ वटाको मूल्य बढेको छ। यस दिन कारोबारमा आएका २५८ धितोपत्र तथा ऋणपत्रमध्ये १३७ वटाको मूल्य घटेको छ।
युनिक नेपाल लघुवित्तको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेर एक हजार ६०४ मा पुगेको छ। लक्ष्मी लघुवित्त कम्पनीको मूल्य सबैभन्दा धेरै ५.७६ प्रतिशतले घटेको छ।
एनआइसी एशिया बैंकको सबैभन्दा धेरै रकमको कारोबार भएको छ। बैंकको चार करोड ९४ लाख रूपैयाँ बराबरको कारोबार भएको छ।