बैंकका कर्मचारीहरूमाथि भइरहेको दुर्व्यवहारमा बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को ध्यानाकर्षण भएको छ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय र कर्मचारीहरूमाथि दुर्व्यवहार गर्ने, लुटपाट गर्ने, कार्यालय बन्द गर्न धम्की दिने जस्ता अराजक गतिविधि र आक्रमण गर्ने जस्ता कार्यहरू दिनहुँ बढिरहेकोप्रति सिबिफिनको ध्यानकार्षण भएको जनाएको हो।
'जाजरकोट जिल्लामा कर्मचारीमाथि गरिएको दुर्व्यवहार, मकवानपुर जिल्लास्थित कुमारी बैंकको शाखा कार्यालयमा गरिएको धरपकड र ज्यादतिको श्रृंखला आज ज्यान लिने गरी घटाइएको छ,' विज्ञप्तिमा भनिएको छ, 'यसै सन्दर्भमा चैत्र २ गते म्याग्दी जिल्लास्थित एनआइसी एशिया बैंकको शाखा कार्यालयका शाखा प्रमुख विनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आलेमाथि नियोजित रूपमा गरिएको सांघातिक आक्रमण गरी गंभिर घाइते बनाइएको घटनाको सिबिफिन घोर भत्सर्ना गर्दछ।'
सिबिफिनले विज्ञप्तिमार्फत उक्त घटनामा संलग्न दोषीहरूलाई कारबाही गर्न समेत सम्बन्धित निकायहरूमा माग राखेको छ।
विज्ञप्तिमा भनिएको छ, 'आन्तरिक तथा बाह्य कारणबाट देशको अर्थतन्त्र नै अत्यन्तै जोखिमपूर्ण अवस्थाबाट गुज्रिरहेको वर्तमान अवस्थालाई समेत मनन गरी बैंकिङ सेवालाई निर्वाध रूपमा सञ्चालन हुने वातावरण सृजना गर्न र आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाउन नेपाल सरकार, गृह मन्त्रालय, नेपाल राष्ट्र बैंक, सुरक्षा निकायसहित सम्बन्धित सबैमा पुनः हार्दिक अपिल गर्दछौं।'