सेयर बजारमा हाल ११ वटा जीवन बीमा कम्पनी सूचीकृत छन्।
यीमध्ये लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसिएन) को मात्रै सेयर मूल्य एक हजार रूपैयाँ माथि छ।
गत बिहीबार यही समूहका अन्य कम्पनीहरूको कारोबार ३९३ देखि ६ सय ६० रूपैयाँसम्म कारोबार हुँदा एलआइसिएनको भने एक हजार ३७४ रूपैयाँसम्ममा कारोबार भइरहेको छ।
कम्पनीले अहिले एक बराबर ०.८८४५ अनुपातमा हुने गरी हकप्रद सेयर जारी गर्न लागेको छ।
अर्थात् कम्पनीमा हाल एक सय कित्ता सेयर हुनेले ८८.४५ कित्ता सेयरको लागि आवेदन दिन पाउनेछ।
बजारमा एक हजार रूपैयाँमा कारोबार भइरहेको कम्पनीको सेयर एक सयमा पाइने भएकोले पनि आकर्षण भने बढेको हो।
अहिलेकै मूल्य कायम राख्न सक्यो भने हकप्रद सेयर समायोजन लगत्तै कम्पनीको मूल्य ७७६ रूपैयाँमा आउँनेछ।
कम्पनीको यही मूल्य कायम रहन सक्छ सक्दैन भन्नेर निश्चित नै गर्न सकिँदैन। यसको लागि पहिले कम्पनीको अवस्था बुझौं।
चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफाको आधारमा यो कम्पनी ११ औं स्थानमा छ।
कम्पनीले दोस्रो त्रैमासमा नौ करोड ८७ लाख रूपैयाँ नाफा कमाएको छ। कम्पनीको नाफा २८ प्रतिशतले बढेको हो।
जीवन बीमा कोषको आधारमा कम्पनी दोस्रो स्थानमा छ। कम्पनीको कोषमा एक खर्ब एक अर्ब रूपैयाँ छ। सञ्चित कोषको आधारमा पनि दोस्रो स्थान छ। महाविपत्ति कोषको आधारमा भने तेस्रो स्थानमा छ। सञ्चित कोषमा ७१ करोड र महाविपत्ति कोषमा ३६ करोड रूपैयाँ छ।
कम्पनीले भुक्तानी दिन बाँकी रकम ४१ करोड रूपैयाँ छ। यो रकमको आधारमा कम्पनी पाँचौं स्थानमा छ।
व्यवसायको आधारमा कम्पनी दोस्रो स्थानमा छ। कम्पनीको बीमा प्रिमियमबाट भएको खुद आम्दानी आठ अर्ब ७० करोड छ। खुद दाबी भुक्तानीको आधारमा पनि कम्पनी दोस्रो स्थान छ। कम्पनीले तीन अर्ब ९८ करोड भुक्तानी दिएको छ।
कम्पनीले जारी गरेको बीमा पोलिसी ६ लाख ८९ हजार छ। यो क्षेत्रमा बीमा पोलिसीको आधारमा कम्पनी चौथो स्थानमा छ।
कम्पनी प्रतिसेयर आम्दानी ७ रूपैयाँ ४४ पैसा, प्रतिसेयर नेटवर्थ १४० रूपैयाँ र मूल्य आम्दानी अनुपात भने २०९ गुणा छ।
प्रतिसेयर आम्दानीको आधारमा कम्पनी ११औं स्थानमा छ। प्रतिसेयर नेटवर्थको आधारमा भने दोस्रो स्थानमा छ।
कम्पनीले २०७६/७७ देखि लाभांश दिएको छैन। सो समय कम्पनीले २० प्रतिशत बोनस सेयर र एक प्रतिशत नगद लाभांश दिएको थियो। बीमा कम्पनीहरूले वार्षिक रुपमा दिने लाभांश एक वर्षले ढिलो भइरहेको छ।
तर, केहीले २०७८/७९ को लाभांश दिइसकेका छन्। २०७६/७७ सम्ममा कम्पनीको पाँच वर्षको औसत वार्षिक लाभांश दर भने २८ प्रतिशत छ।
करिब दुई वर्षअघिसम्म कम्पनीको मूल्य २ हजार ८ सय रूपैयाँसम्म थियो। कम्पनीको मूल्यको नजिकको उच्च बिन्दु एक हजार ७ सयसम्म थियो भने न्यून मूल्य एक हजार ७५ रूपैयाँसम्म छ।
प्राविधिक विश्लेषणको औजार 'मुभिङ एभरेज' को आधारमा मूल्य घट्दो क्रममा छ। यसले तुलनात्मक रूपमा केही लामो अवधिको प्रवृत्ति देखाउँछ।
मैनवत्ती चित्र विश्लेषणको आधारमा भने गत बिहीबारबाट अहिलेलाई मूल्य घट्न रोकिएको संकेत गर्छ।
यो दरिलो संकेत नै भने होइन। मैनवत्ती चित्रले अल्पकालिन प्रवृत्ति देखाउँछ।