बैंकिङ क्षेत्रका संघसंगठनले पछिल्लो समय केही व्यक्ति तथा समूहरूले वित्तीय क्षेत्रका कर्मचारीमाथि गरेको सांघातिक आक्रमण, अराजक व्यवहार र उनीहरूप्रति लक्षित धम्कीपूर्ण अभिव्यक्तिको निन्दा गरेको छ।
बैंकिङ जस्तो अत्यावश्यक एवं संवेदनशील क्षेत्रमा भइरहेको आक्रमणले समस्त बैंकिङ क्षेत्र नै चिन्तित र आतंकित बनेको यी संगठनले जारी गरेको प्रेश विज्ञप्तिमा उल्लेख छ।
यसरी जबरजस्ती कानुन आफ्नो हातमा लिनेहरूलाई समयमै नियन्त्रण गर्न समेत संघठनले राज्यका सम्बन्धित निकायहरूलाई अनुरोध गरेका छन्।
यस प्रकारका क्रियाकलापहरु कसैको हितमा नहुने, यसले असहज वातावरण सृजना गर्ने, सामाजिक सहिष्णुता खलल पुर्याउने, आर्थिक गतिविधिमा समेत नकारात्मक असर पार्ने र अन्ततः अर्थतन्त्र नै धराशायी बनाउने भएको भन्दै संगठनले सजग रहन सबैलाई आग्रह गरेको छ।
देशमा आवश्यक पुँजी निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरेहेको र नियामक निकायबाट निर्देशित सिद्धान्तलाई अक्षरस पालना गर्दै पारदर्शीता अपनाएको यस क्षेत्रलाई भय रहित बनाउन समेत संगठनले माग गरेको छ।
वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरु भय रहित रुपमा काम गर्ने वातावरणको सुनिश्चितता र दोषीलाई कारबाहीको दायरामा ल्याउन समेत संगठनले माग गरेका छन्।
पछिल्लो समय जाजरकोट, मकवानपुर, म्याग्दी, सुनसरी, उदयपुर, कपिलवस्तु, रुपन्देही, कास्की लगायतका क्षेत्रमा बैंकिङ क्षेत्रका केहीले कर्मचारी माथि धरपकड, सांघातिक हमला, कार्यालयमा तालाबन्दी गरेका छन्।