साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक ६.९० अंकले घटेको छ।
यस दिन नेप्से ०.३६ प्रतिशतले घटेर १९२६.४० बिन्दुमा बन्द भएको छ।
आइतबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
गत कारोबार दिन १ अर्ब १४ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा उक्त रकम घटेर यस दिन १ अर्ब ६ करोड ९८ लाख ४ हजार ८२५ रुपैयाँमा सीमित भएको छ।
आइतबार २५९ वटा धितोपत्रको ३१ लाख ६३ हजार ३८९ कित्ता सेयर किनबेच भएको हो।
आइतबार तीन वटा लघुवित्त कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ।
मानुषी लघुवित्त, युनिक नेपाल लघुवित्त र शुभम् पावरको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ।
यसदिन मानुषी लघुवित्तको सेयरमूल्य ८४७ रुपैयाँ, युनिक नेपाल लघुवित्तको सेयरमूल्य एक हजार ७६४ रुपैयाँ ६० पैसा र शुभम् पावरको सेयरमूल्य ५६७ रुपैयाँ ६० पैसा पुगेको छ।
यसैगरी, सर्वाधिक मूल्य घट्नेमा सानिमा ग्रोथ फण्ड रहेको छ। उक्त योजनाको सेयरमूल्य सर्वाधिक ८.५६ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ८ रुपैयाँ ७६ पैसामा झरेको छ।
यस्तै, श्रृजनशिल लघुवित्तको सेयर मूल्य ७.३३ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार ३९० रुपैयाँ कायम भएको छ।
यस दिन हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता एक हजार ९७५ रुपैयाँमा ६ करोड १० लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा १.९९ प्रतिशत घटेको छ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा शिवम् सिमेन्ट रहेकोे छ। उक्त कम्पनीको ४२५ रुपैयाँमा ४ करोड ५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक बढेको छ भने बाँकी आठ समूहको परिसूचक घटेको छ।
यस दिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ०.८७ प्रतिशतले बढेको छ।
यस्तै, म्युचुअल फण्ड समूहको परिसूचक सर्वाधिक १.१७ प्रतिशतले घटेको छ।