सिटी होटलले नेपाल धितोपत्र बोर्डबाट आइपिओ निष्कासन गर्नका लागि स्वीकृति पाएको छ।
बोर्डले कम्पनीलाई आइपिओ निष्कासन गर्नका लागि चैत ५ गते अनुमति दिएको हो।
अनुमति पाएसँगै कम्पनीले १६ करोड ७४ लाख बराबरको १६ लाख ७४ हजार कित्ता आइपिओ निष्कासन गर्नेछ।
उक्त सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।
सन् २०२० जुलाई १५ सम्म सात संस्थापकहरूको ९३ करोड ८० लाख रूपैयाँ लगानी रहेको देखिन्छ।
यस आधारमा हाल होटलले जारी गर्न लागेको सेयरपछि चुक्ता पुँजी एक अर्ब १० करोड रूपैयाँ पुग्नेछ। सर्वसाधारणको स्वामित्वमा १५ प्रतिशत सेयर रहने सम्भावना छ।
हायात प्लेस होटल गत वर्ष मात्र सञ्चालनमा आएको हो।
काठमाडौं, सोल्टीमोडमा रहेको यो पाँचतारे होटलमा एक सय ५३ वटा कोठा छन्। कुल चार अर्ब ३९ करोड ६० लाख रूपैयाँ लागतको यो होटलमा २५ फेब्रुअरी २०२१ मा तीन अर्ब ५६ करोड ९० लाख रूपैयाँ लगानी भइसकेको छ।
यो अवधिमा होटलले लिएको कर्जा दुई अर्ब ८४ करोड रकम कायम थियो। यो रकम होटलमा खर्च भइरहेको हो।
होटल सन् २०२१ अगष्ट बाट सञ्चालनमा आउने भनिएकोमा केही ढिला हुन पुगेको थियो। तीन अर्ब १४ करोड ७० लाख रूपैयाँमा तयार हुने भनिएको यो होटलको सञ्चालन केही ढिलो हुँदा लागत बढेको हो।
२१ जुनको विवरण अनुसार होटलको सञ्चालकमा शक्तिकुमार गोल्यान रहेका छन्।