चालु आर्थिक वर्ष अन्त्य हुन लगभग चार महिना बाँकी रहँदा बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लगानी विस्तार गर्न थालेका छन्।
केही समय अधि मात्रै नबिल बैंक, एनएमबी बैंक, नेपाल बैंक र मुक्तिनाथ विकास बैंक लगायतले नयाँ कर्जा योजना सम्बन्धी सूचना प्रकाशित गरेका छन्।
'अहिले बैंकहरू कर्जा लगानी गर्न सक्ने गरी सहज अवस्थामा छन्,' नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले भने, 'अब यो आर्थिक वर्षको लागि कर्जा लगानी गर्ने अवधि लगभग तीन महिना मात्र बाँकी रहेकाले पनि यसमा बैंकहरू अग्रसर भएका हुन्।'
बैंक तथा वित्तीय संस्थाहरूले सामान्यतया आर्थिक वर्षको अन्तिम महिना अर्थात् असारमा कर्जा लगानी गर्दैनन्। सो महिना उनीहरूको जोड कर्जाको किस्ता असुलीमा हुने गर्छ।
वर्ष अन्त्य हुन थाल्दा सरकारको खर्चमा समेत वृद्धि हुने भएकोले बैंकिङ प्रणालीमा तरलता सहज हुनेछ। यही कारण पनि बैंकहरूले केही समयसम्म सुस्त गतिमा भइरहेको कर्जा विस्तारलाई बढाउन थालेका छन्।
बैंक तथा वित्तीय संस्थामा केही महिना अघिसम्म तरलता समस्या थियो।
बैंकहरूको खराब कर्जामा वृद्धि भइरहेको कारण पनि जोखिम बापत राख्नुपर्ने प्रावधानमा वृद्धि भइरहेको छ।
यसले पनि उनीहरूको कर्जा लगानी क्षमता घटेको छ। सरकारले बजेटको आकारमै कटौती गरेपछि पनि बैंकहरू केही समय पर्ख र हेरको अवस्थामा थिए।
तर, पछिल्लो समय बैंकहरूको तरलतामा सुधार भइरहेको छ। यही कारण पनि बैंकहरूले कर्जा विस्तारलाई बढाउन थालेका छन्।
अहिले बैंकहरूसँग करीब चार प्रतिशतबराबर रकम नै लगानीको लागि उपलब्ध छ। 'बैंकहरूको कर्जा निक्षेप अनुपात र खुद तरलताको अवस्था हेर्दा कुल चार प्रतिशत बराबर रकम कर्जा लगानीको लागि उपलब्ध छ,' शर्माले भने। बैंकहरूसँग करिब अढाइ खर्ब बराबर रकम कर्जा लगानीको लागि उपलब्ध छ।
बैंकहरूको कर्जाको ब्याजदर उच्च रहेको कारण मागमै समेत कमी आइरहेको थियो। पछिल्लो समय भने ब्याजदर घट्ने क्रममा छ। त्यसैले पनि कर्जाको मागमा क्रमिक रूपमा सुधार हुँदै जाने देखिएको छ। कर्जा विस्तारमा सुधार हुँदै गए पनि लक्ष्यअनुसार भने कर्जा लगानी नबढ्ने भएको छ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षमा निजी क्षेत्रतर्फको कर्जा लगानी १२.६ प्रतिशतले विस्तार हुने लक्ष्य मौद्रिक नीतिमा लिएको थियो। गत आर्थिक वर्ष अन्त्यसम्ममा बैंकहरूले निजी क्षेत्रतर्फ गरेको कुल कर्जा लगानी ४६ खर्ब ८८ अर्ब रूपैयाँ थियो।
यही लक्ष्य अनुसार ५ खर्ब ९० अर्ब रूपैयाँले कर्जा लगानी बढाउनुपर्ने हुन्थ्यो। हालसम्म भने कुल कर्जा लगानी एक खर्ब २४ अर्बले मात्रै वृद्धि भएको छ।
बैंकरहरूका अनुसार चालु आर्थिक वर्षमा ६/७ प्रतिशतको हाराहारीसम्म मात्रै कर्जाको विस्तार हुने सम्भावना छ। चालु आर्थिक वर्षको सात महिनासम्ममा लक्ष्यको ३.९ प्रतिशतले कर्जा विस्तार भएको छ।