सन् २०२३ मार्च १४ मा ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टका अध्यक्ष सारा च्याम्पीयनको नेतृत्वमा बेलायतको हाउस अफ कमन्सका प्रतिनिधिहरू र ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टका सदस्य समूहले एनएमबी बैंकको भ्रमण गरेका छन्।
एनएमबी बैंकको ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टसगँको सहकार्य पछि भएको प्रगतिबारे अवलोकन गरी बैंकले कार्यान्वयन गर्दै आइरहेको दिगो बैंकिङ अभ्यासको जानकारी लिनु उक्त भ्रमणको मुख्य उद्देश्य रहेको बताइएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भ्रमणका प्रतिनिधिहरूलाई बैंकले दिगो बैंकिङ अभ्यासको कार्यान्वयन पछि गरेको प्रगति विवरणको समीक्षा गर्दै बैंक तथा समग्र देशको दिगो विकास लक्ष्य प्राप्त गर्न पुर्याएको उल्लेखनीय योगदानको बारे समेत प्रकाश पारे।
प्रतिनिधि मण्डलसँग छलफलको क्रममा केसीले नेपालको दिगो तथा समावेशी आर्थिक विकासबीच रहेको स्रोत साधनको अन्तरपूर्ति गर्नको लागि ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्ट जस्ता संस्थाले प्रदान गर्ने अनुदानको महत्व तथा आवश्यकताको बारेमा जोड दिए।
साथै, प्रतिनिधिहरूले बैंकले जलविद्युत परियोजनामार्फत समुदाय विकासमा पुर्याएको योगदानको प्रशंसा गरे।
महिला तथा फरक ढंगले सक्षम व्यक्तिहरुको सशक्तिकरणका लागि बैंकले गरेको पहल र कमजोर आर्थिक अवस्था भएका र पिछडिएका समूहहरूको स्तर उन्नतिका लागि बैंकले गरेको योगदानका बारेमा छलफल गर्दै दुवै तर्फका प्रतिनिधिहरूले सो सम्बन्धी प्रतिक्रिया समेत आदानप्रदान गरे।
बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटिएम र १२ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गदै आइरहेको छ।