लघुवित्त कम्पनीहरूले कर्जामा लिने ब्याजदर तोकेको राष्ट्र बैंकले लाभांश समेत तोकेपछि यी कम्पनीको सेयर मूल्यमा उच्च गिरावट आएको छ।
राष्ट्र बैंकले गत साता जीवन विकास लघुवित्त कम्पनीलाई १५ प्रतिशत मात्र लाभांश बाड्न निर्देशन दिएको थियो। कम्पनीले पहिला ३७.३६ प्रतिशतको दरमा लाभांश प्रस्ताव गरेको थियो। त्यसमा समेत संशोधन गरेर ३३.१५ लाभांश प्रस्ताव सहित कम्पनी राष्ट्र बैंक पुगेको थियो।
राष्ट्र बैंकले माहुली लघुवित्त वित्तीय संस्थाको पनि लाभांश पनि तोकेको छ। यसअघि २५ प्रशिशत लाभांश प्रस्ताव गरेको कम्पनी राष्ट्र बैंकमा लाभांश स्वीकृतिको लागि पुगेको थियो। राष्ट्र बैंकले कम्पनीलाई पनि १५ प्रतिशत लाभांश मात्र दिन निर्देशन दिएपछि संशोधन गरेको छ।
'राष्ट्र बैंकले अहिले केही कारण नभनी ठाँडै लाभांश तोकेर पठाउन थालेको छ,' एक लघुवित्तका सञ्चालकले भने।
यही कारण उच्च लाभांश प्रस्ताव गरेका कम्पनीहरूको मूल्य समेत बढ्न सकेन। नेष्डो समृद्ध लघुवित्तले आइतबार नै ७३.६८ प्रतिशतले लाभांश घोषणाको सूचना सार्वजनिक गरेको छ। तर, कम्पनीको सेयरमूल्य समेत ८.४४ प्रतिशतले मूल्य घटेको छ।
'राष्ट्र बैंकले केही कम्पनीहरूको लाभांश नै तोकेपछि लगानीकर्ताहरूले यसको चाल पाइसकेका छन् यही कारण पनि लाभांश उच्च घोषणा गरे पनि नेष्डोको मूल्य घट्यो,' एक ब्रोकरले भने।
आइतबार सेयर बजारमा मूल्य उच्चदरमा घट्ने १० कम्पनीमा नौ वटा लघुवित्त छन्। जीवन विकास, जाल्पा, युनिक नेपाल, महिला, किसान, नेष्डो समृद्ध, मानुषी, नेशनल र श्रीजनशील लघुवित्त कम्पनीको मूल्य घटेको छ।
जीवन विकास, जाल्पा, युनिक नेपालको मूल्य १० प्रतिशतको दरमा नै घटेको छ। अन्यको भने न्यूनतम ७.१८ प्रतिशतसम्म मूल्य घटेको छ।