केही समयदेखि सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा सेयर बजारबाट लगानीकर्ताको यति अर्ब गुम्यो जस्ता शीर्षकका समाचारहरू देख्नुभएको होला।
हुन पनि सेयर बजार ३१ सयको उच्च विन्दुसम्म पुगेको थियो। त्यो बेला कुल बजार पुँजीकरण ४४ खर्ब रूपैयाँभन्दा धेरै थियो।
आइतबार भने यस्तो बजार पुँजीकरण २७ खर्ब रूपैयाँमा सीमित भएको छ। यसमा लगभग १७ खर्ब बराबरको ह्रास आएको छ।
त्यसो भए के सेयर लगानीकर्ताहरूले बजारबाट १७ खर्ब रूपैयाँ नै गुमाएका हुन् त?
सेयर बजारका जानकारहरू यसलाई सेयर लगानीकर्ताहरूको रकम गुमेको भन्दा उनीहरूको सम्पत्तिमा क्षय भएको भन्न सकिने बताउँछन्।
अर्थात् लगानीकर्ताहरूले सोझै रकम गुमाएका होइनन्। सेयर भाउ वृद्धि हुँदा कारण उनीहरूको सम्पत्तिको मूल्य पनि बढेको हुन्छ। त्यसैले यो सम्पत्तिमा आएको ह्रास हो।
यसलाई अझै सजिलोसँग बुझ्न बजार पुँजीकरण कसरी गणना हुन्छ भनेर बुझौं।
जुन दिनको बजार पुँजीकरण निकाल्ने हो त्यस दिन सेयर बजारमा सूचीकरण भएको कम्पनीको कायम भएको अन्तिम मूल्य लिनुपर्छ। उक्त मूल्यले सो कम्पनीको सूचीकृत सबै सेयरलाई गुणन गरिन्छ र पुँजीकरण निकालिन्छ।
मानौं, कुनै कम्पनीको अन्तिम मूल्य ३ सय रूपैयाँ भएको छ। त्यसको कुल सेयर संख्या एक करोड छ। अब त्यस दिनको सो कम्पनीको बजार पुँजीकरण तीन अर्ब रूपैयाँ हुन्छ।
हरेक दिन कम्पनीको मूल्यमा हुने घटबढसँगै बजार पुँजीकरण पनि घटबढ हुन्छ।
यसरी हरेक कम्पनीको बजार पुँजीकरणपछि निस्किने कुल रकम नै कुल बजार पुँजीकरण हो। यसरी बजार पुँजीकरणमा हुने घटबढलाई 'कागजी नाफा' वा 'कागजी घाटा' भन्ने गरिन्छ।
त्यसैले अहिले सेयर लगानीकर्ताहरूले बजारबाट १७ खर्ब रूपैयाँ नगद गुमाएका होइनन्। तर उनीहरूको सम्पत्तिको मूल्यमा भने ह्रास आएको हो।
सबै कम्पनीको सबै सेयर कहिले पनि एकै दिनमा किनबेच हुँदैन। यस्तो भएको अवस्थामा मात्रै लगानीकर्ताहरूलाई १७ खर्बकै घाटा हुने हो। तर यस्तो घटना एक दिनमा हुँदैन।
'लगानीकर्ताले जति लगानी गरेको छ त्यो सबै रकम गुमेको भन्ने हुँदैन। यो त कागजी मूल्य मात्रै हुन्छ,' मर्चेन्ट बैंकर एसोसिएसनका निर्वतमान अध्यक्ष मेखबहादुर थापाले भने, 'किनभने भोलि बजार फर्किँदा मूल्य पनि फर्किहाल्छ।'
त्यसो भए के लगानीकर्तालाई कुनै घाटा भएको छैन?
छ तर त्यस्तालाई जसले बजार घटेका बेलामा सेयर बिक्री गरेका छन्। आफूसँग भएको कम्पनीको सेयर भाउ कम भएका बेला, आफूले किनेभन्दा कम भाउमा बेचेको भए उसलाई घाटा भएको हुन्छ।
तर उसले त्यही सेयर बजार मूल्य बढेपछि बेचे घाटा नहुने अवस्था आउँछ। समय र अन्य क्षेत्रमा त्यही लगानीबाट हुने प्रतिफलको तुलना नगर्ने हो भने यो नाफा नै हो।
सेयर बजारमा कम्पनीको मूल्य कायम हुन लगानीकर्ताहरूको अपेक्षाले पनि काम गरेको हुन्छ। अपेक्षा धेरै हुँदा मूल्य बढ्छ र कम हुँदा मूल्य घट्छ। त्यस्तै, धेरैजसो मुलुकमा बजार परिसूचक बढ्दा सबै कम्पनीको मूल्य केही न केही बढ्ने र मूल्य घट्दा पनि केही न केही घट्ने हुन्छ।
'नेपाली सेयर बजारको यो मुख्य प्रवृत्ति हो,' सेयर ब्रोकर सन्तोष मैनाली भन्छन्, 'त्यही भएर बजार बढ्दा तुलनात्मक रूपमा कमजोर कम्पनीको मूल्य पनि बढिरहेको हुन्छ। बजार घट्दा बलिया कम्पनीको पनि मूल्य घटिरहेको हुन्छ।'
जबकि बजार र कम्पनीहरूको आर्थिक अवस्था समानान्तर रूपमा उही दरमा घटबढ भएको हुँदैन। अहिलेकै उदाहरण हेर्ने हो भने सेयर बजार परिसूचक लगभग ४०/४२ प्रतिशतले घटिसकेको छ। ३२ सय विन्दु नजिक रहेको नेप्से परिसूचक १९ सयमुनि आइसकेको छ। यो अवधिमा सूचीकृत कम्पनीहरूको आर्थिक परिसूचक भने ४०/४२ प्रतिशतले नै घटेको छैन। लगानीकर्ताहरूको मनोविज्ञान र अपेक्षाले नै यसमा काम गरेको हुन्छ।
मनोविज्ञानकै कारण सेयर मूल्य उच्च दरमा घटबढ हुने भए पनि त्यसलाई अन्य पक्षहरूले पनि सघाएका हुन्छन्। कम्पनीको वित्तीय अवस्था, आर्थिक गतिविधि, आर्थिक, सामाजिक संकट लगायत पनि कारक हुन्छन्।
हाम्रो बजारमा बैंक तथा वित्तीय संस्थाको हिस्सा सबैभन्दा धेरै छ। यी संस्थाहरूको खराब कर्जामा वृद्धि भइरहेको छ। लुघवित्तहरूमा समेत यस्तै समस्या छ। बीमा क्षेत्रको व्यवसाय वृद्धिमा समेत संकुचन आइरहेको छ। यिनै कारण पनि बजारलाई प्रभाव परेको हो।
यो क्षेत्रको हिस्सा धेरै भएकाले यी क्षेत्रसँग सम्बन्धित भएर आउने नीतिगत व्यवस्थाले पनि समग्र बजारलाई प्रभाव पार्छ। राष्ट्र बैंकले सेयर कर्जाको धितोमा गर्ने कडाइ, बैंकिङ क्षेत्रमा प्रवाह हुने पुँजीसम्बन्धमा लिने नीतिले पनि प्रभाव पारेको हुन्छ।