ग्लोबल आइएमई बैंकले युवा/विद्यार्थीहरू माझ वित्तीय साक्षरता प्रवर्द्धन गर्दै आयोजना गरिएको ग्लोबल मनी वीक सम्पन्न गरेको छ।
नेपाल राष्ट्र बैंकको वार्षिक कार्यतालिका अनुरूप हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ग्लोबल मनी वीकको ११औं संस्करण बैंकले चैत ६ गतेदेखि १२ गतेसम्म सप्ताहव्यापी 'प्लान योर मनि, प्लान्ट योर फ्यूचर'को नारा सहित सम्पन्न गरेको हो।
ग्लोबल आइएमई बैंकले विभिन्न स्कुल तथा कलेजका हजारौं विद्यार्थीहरूको सहभागितामा सातै प्रदेशका शाखा कार्यालयहरूबाट देशव्यापी वित्तीय चेतना अभिवृद्धि कार्यक्रम आयोजना गरेको छ।
यस अभियानअन्तर्गत बैंकले बैंकिङ सेवा तथा वित्तीय बजार लगायत विषयमा सचेतना अभिवृद्धिलाई लक्षित गरेर विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको छ।
जसअन्तर्गत बैंकका विभिन्न शाखा कार्यालयहरूमार्फत वित्तीय सचेतनामूलक अन्तर्क्रिया सञ्चालन भएका छन्।
साथै, सामाजिक सञ्जालबाट चेतनामूलक श्रव्यदृष्य सामग्रीहरू पनि प्रसारण गरेको छ।
यसका साथै, युवा/विद्यार्थीहरूलाई बैंकका शाखा कार्यालयहरूको अवलोकन एवम् साक्षात्कार गराउने कार्यक्रम समेत विभिन्न ठाँउमा आयोजना गरेको बैंकले बताएको छ।
सन् २०१२ देखि प्रत्येक वर्ष विश्वका १७० भन्दा बढी मुलकमा सञ्चालन हुँदै आएको 'ग्लोबल मनी विक' मूलतः किशोर/किशोरी तथा युवा/युवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यका साथ विश्वव्यापी रूपमा थालिएको अभियान हो।
बैंकले पनि यो अभियान सुरू भएदेखि नै प्रत्येक वर्ष नेपाल राष्ट्र बैंकको संयोजकत्वमा वित्तीय चेतनामूलक कार्यक्रमहरू सञ्चालन गरी बैंकिङ शिक्षाको प्रचारप्रसार गर्दै आएको छ।
बैंकले ३६४ शाखा कार्यालय, ३६३ एटिएम, ३२१ शाखा रहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी एक हजार १०० भन्दा बढी सेवा केन्द्रबाट ४० लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ।