नेपाल क्लियरिङ हाउस (एनसिएचएल) को सञ्चालक समितिमा दुई जनालाई नियुक्त गरिएको छ।
वाणिज्य बैंकहरूका तर्फबाट नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका डेपुटी प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र स्वतन्त्र सञ्चालकका रूपमा अधिवक्ता जगदीश दहाललाई नियुक्त गरिएको हो।
यही चैत १४ गते बसेको एनसिएचएलको २०६ औं सञ्चालक समितिको बैठकबाट उक्त निर्णय गरिएको हो।
नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरू मार्फत प्रवर्द्धित यस कम्पनीको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका तर्फबाट एक जना, वाणिज्य बैंक तर्फबाट तीन जना, विकास बैंक र फाइनान्स कम्पनीबाट एक–एक जना तथा स्वतन्त्र सञ्चालकबाट एक जना गरी जम्मा सात जनाको प्रतिनिधि रहने व्यवस्था छ।
एनसिएचएलले राष्ट्रिय स्तरको भुक्तानी प्रणालीहरू स्थापना तथा सञ्चालन गर्दै आएको छ।