नेपाल बैंकर्स संघले नै वितरण गरेको तथ्यांकले नेपालमा अहिले कायम भएको कर्जाको ब्याजदर १० वर्षपछिकै उच्च देखाउँछ।
असार २०६९ मा कर्जाको औसत ब्याजदर १३.६० प्रतिशत थियो। त्यसयता पहिलो पटक माघमा यो १३.०३ प्रतिशत पुगेको छ।
असमान्य अवस्था सामान्यीकरण हुँदै गर्दा एकपटक भने कर्जाको ब्याजदर उच्च तहमा पुग्ने गरेको देखिन्छ. यसरी कर्जाको ब्याजदर बढ्नुमा संकटपछि कर्जाको मागमा हुने वृद्धि रहने देखिन्छ।
असार २०६९ मा कर्जाको औसत ब्याजदर १३.६० प्रतिशत पुगेको थियो। सो समयअघि बैंकिङ क्षेत्रमा समस्या देखिएको थियो। राष्ट्र बैंकको २०६९/७० को मौद्रिक नीतिले नै बैंक तथा वित्तीय संस्थाहरूमा त्यस समय संरचनात्मक समस्या रहेको कारण ब्याजदर घट्न नसकेको उल्लेख गरेको छ।
अझ केही संस्थालाई राष्ट्र बैंकले सो समय अन्तिम ऋणदाता सुविधा नै दिएको समेत उल्लेख गरेको छ। बैंक तथा वित्तीय संस्था सञ्चालन नै गर्न नसक्ने अवस्थामा पुग्दा अन्तिम ऋणदाता सुविधा दिइन्छ।
असार २०६९ पछि ब्याजदरमा क्रमिक रूपमा सुधार हुँदै गएको देखिन्छ। त्यसपछि २०७२ सालको भूकम्पलगत्तै कर्जाको मागमा समेत कमी आएको र ब्याजदर औसत ८.८६ प्रतिशतसम्म ओर्लिएको थियो।
'जहिले जहिले संकट आएको छ, त्यो समय मात्रै कर्जाको ब्याजदर निकै कम हुने गरेको विगत देखिका तथ्यांकहरूले देखाउँछ,' नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भने, 'अहिलेको ब्याजदर यसअघि कहिल्यै नभएको होइन, तर जब अवस्था निकै सहज हुँदै जान्छ ब्याजदर पनि घटेको छ।'
२०७२ को भूकम्प र त्यसै समयमा लिइएको बैंकहरूको चुक्ता पुँजीमा चार गुणाको वृद्धि नीतिले भने पुनः एकपटक कर्जाको ब्याजदर उचाइमा पुर्याएको देखाउँछ। यिनै कारण २०७५ असारमा पनि कर्जाको ब्याजदर १२.२९ प्रतिशतसम्म पुग्यो।
त्यसपछि भने ब्याजदर सामान्य हुने क्रममै रह्यो।
२०७६ चैतपछि नेपालमा समेत कोभिड संक्रमण बढ्न थालेसँगै कर्जाको मागमा उच्च दरमा कटौती भयो र ब्याजदर ८.४३ प्रतिशतसम्म ओर्लियो। पछिल्लो समय भने यसमा थप वृद्धि भयो र १० वर्षपछि ब्याज उच्च तहमा पुग्यो।
कोभिडको कारण कर्जाको मागमा शिथिलता आउँदा कर्जाको ब्याजदर निकै कम हुन थालेको थियो। कोभिडबाट राहत दिनकै लागि राष्ट्र बैंकले समेत बजारमा पुँजी प्रवाह बढाएको थियो।
अहिले अवस्था सामान्यीकरण भएसँगै राष्ट्र बैंकले दिएको सहुलियत हटाएको छ। यसैबीच रसिया युक्रेनबीचको युद्ध र मुलुकमा देखिएको विदेशी मुद्रा सञ्चितिको दबाबले भने कोभिडपछिको अवस्था सामन्यीकरण हुन पाएन र कर्जाको ब्याजदर निकै उच्च भयो।
अहिले भने युद्ध र विदेशी मुद्रा सञ्चितिको दबाब कम भइरहेको छ। यससँगै ब्याजदर पनि घट्दै गएको छ। यसमा थप सुधार आउने अपेक्षा बैंकरहरूको छ।
'हामी विगत दुई महिनादेखि ब्याजदर घटाउने प्रयासमा छौं। यो घट्दो क्रममा समेत छ,' केसीले स्पष्ट पारे, 'हाम्रो आधारदरमै समेत वृद्धि भएकोले कर्जाको ब्याजदर बढिरहेको थियो। यो लागत घटाउन हामीहरू लागेका छौं।'
गत माघका बैंकहरूले कर्जाको ब्याजदर निर्धारण गर्न लिने आधार दर समेत १० वर्षयताकै उच्च दरमा छ। यस्तो दर १०.७२ प्रतिशत छ। अहिले बैंकहरूले साधारण बचतको ब्याजदर घटाएकोले कर्जाको ब्याजदर थप सस्तिने सम्भावना छ।