सरकारले निर्माण व्यवसायीहरूलाई दिनुपर्ने भुक्तानी गरेमा बैंकहरूमा बढ्दै गएको खराब कर्जामा सुधार आउने बैंकरहरूले बताएका छन्।
'अहिले निर्माण क्षेत्र मारमा छ, सरकारबाट पाउनुपर्ने भुक्तानी पनि निर्माण व्यवसायीहरूले पाइरहेका छैनन्,' एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले भने, 'यो पैसा उनीहरूले प्राप्त गर्न सके भने पनि बैंकहरूको खराब कर्जामा सुधार हुनेछ।'
सरकारले निर्माण क्षेत्रमा करिब ६० अर्ब रूपैयाँ भुक्तानी दिन बाँकी छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गत माघ अन्त्यसम्ममा बैंक तथा वित्तीय क्षेत्रले निर्माण क्षेत्रमा एक खर्ब ९८ अर्ब रूपैयाँ कर्जा लगानी गरेका छन्। आवास बाहेकका गैर आवास निर्माणमा बैंकहरूले २६ अर्ब र ठूला पूर्वाधारमा ८० अर्ब १७ करोड लगानी गरेका छन्।
पैसा नउठेको कारण पनि बैंकहरूको खराब कर्जामा वृद्धि भइरहेको बैंकरहरू बताउँछन्।
पछिल्लो समय निर्माण बाहेक अन्य क्षेत्र समेत बजारमा उधारोमा फसेपछि बैंकहरूको खराब कर्जामा वृद्धि भइरहेको छ।
२०७६ असारपछि घट्दो क्रममा देखिएको खराब कर्जा गत पुसमा बढ्दै २.३५ प्रतिशत पुगेको छ।
चैतमसान्तमा खराब कर्जामा थप वृद्धि हुने बैंकरहरूको अनुमान छ। २०७६ असारमा खराब कर्जा २.९२ प्रतिशतसम्म थियो। त्यसयता पहिलो पटक यो तहमा पुग्न लागेको हो।
खराब कर्जा बढेपनि व्यवस्थापन गर्न सकिने तहमै रहेको बैंकरहरू बताउँछन्।
'नेपालमा खराब कर्जा केही बढेपनि ऋण नै बिग्रने समस्या कमै देखिएको छ, भुक्तानी केही ढिला हुनसक्छ, तर कर्जा डुब्दैन,' नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भने।
केसीले बैंकहरू डुब्ने (फेलियर) हुने स्थिति नआउनेमा समेत जोड दिए।
'निर्माण क्षेत्रलाई चलायमान बनाएमा मात्रै अर्थतन्त्र चलायमान हुने विश्वास बैंकरहरूको छ। 'हाम्रोमा घरजग्गामा लगानी गर्नु नै हुँदैन भने गलत बुझाइ छ,' केसीले स्पष्ट पारे, 'घरजग्गा कर्जाले अर्थतन्त्र चाँडो चलायमान बनाउन सक्ने देखिएकोले पनि बैंकरहरूले अहिले यस्तो कर्जामा जोड दिइरहेका छन्।'
घरजग्गा कर्जा जारी हुँदा निर्माण क्षेत्रका सिमेन्ट, छड, रड, रङ लगायतका उद्योगहरू फस्टाउने भएकोले पनि बैंकहरूले पछिल्लो समय यस्तो कर्जामा जोड दिने उद्देश्यले यस्तो कर्जा सम्बन्धी कर्जा योजना ल्याएका छन्।
केही समय अघि नेपाल चेम्बर्स अफ कमर्शले गरेको एक अध्ययनले मन्दीको मारमा निर्माण क्षेत्र उच्च प्रभावित भएको उल्लेख गरेको थियो।
यी क्षेत्रमा निर्माण क्षेत्र औसत ३० प्रतिशत क्षमतामा चलिरहेको तथ्यांक सार्वजनिक भएको थियो।
व्यवसायिक घरजग्गा कर्जामाभन्दा पनि बैंकहरूले व्यक्तिगत आवास कर्जामा जोड दिइरहेका हुन्।
२०७९/८० को असारदेखि माघसम्ममा बैंकहरूले एक करोड ५० लाखभन्दा कमका व्यक्तिगत आवास कर्जामा तीन खर्ब ४६ अर्ब रूपैयाँ कर्जा लगानी गरेका छन्।
गत वर्षको यही अवधिको तुलनामा यस्तो कर्जा मात्रै ३.४ प्रतिशतले वृद्धि भएको छ। गत आर्थिक वर्ष २०७८/७९ असारदेखि माघसम्ममा तीन खर्ब ३५ अर्ब रूपैयाँ कर्जा लगानी गरेका थिए।