युक्रेनसँगको द्वन्द्वको कारण रसियालाई अमेरिकाले लगाएको प्रतिबन्ध एक वर्ष पुगेकै समयमा रसियामा अमेरिकी डलरको तुलनामा चिनियाँ युआनको कारोबार उच्च भएको छ।
मासिक कारोबारको आधारमा चिनियाँ युआनको कारोबारले पहिलो पटक डलरको कारोबारलाई उछिनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ब्लुमबर्गले उल्लेख छ।
चिनियाँ रेनमिनबीको कारोबार गत फेब्रुअरीमा डलरको तुलनामा उच्च भएको हो र मार्चमा यसमा थप वृद्धि भएको छ।
मस्को एक्सचेन्जको दैनिक कारोबारको तथ्यांकलाई जोडेर ब्लुमबर्गले यस्तो निष्कर्ष निकालेको हो। युक्रेनसँगको युद्धअघि चिनियाँ मुद्राको कारोबार निकै कम हुने गरेको थियो।
सन् २०२३ मा रसियाबिरुद्ध थप प्रतिबन्ध लागेसँगै त्यहाँका बैंकहरूले अन्तरदेशीय भुक्तानीमा समस्या खेपिरहेका थिए।
सन् २०२२ फेब्रुअरीदेखि पश्चिमतर्फ टुटेको रसियाको सम्बन्ध चीनतर्फ भने गहिरिदैँ गएको थियो। चिनियाँ राष्ट्रपति सी जिनफिङ पुनरनिर्वाचित भएसँगै मार्चमा उनको पहिलो भ्रमण मस्कोको लागि भएको थियो।
सो समयपछि रसियाले अमेरिकन डलर र युरो प्रतिबन्धमा असंलग्न राष्ट्रहरूको मुद्रा चलाउने नीति अख्तियार गरेको थियो।
रसियाका अर्थमन्त्रीले यस्तो नीति अख्तियार गरेका थिए। त्यहाँको राष्ट्रिय कोष (नेशनल हेल्थ फण्ड) मा ६० प्रतिशत हिस्सा चिनियाँ मुद्राको रहने गरी निर्णय गरिएको थियो।
रसिया बैंकले कम्पनी र नागरिकहरूलाई उनीहरूसँग भएको मुद्रा या त युआन या डलर र युरो बाहेकका अन्य मुद्रामा राख्न समेत आग्रह गरेको थियो।
प्रतिबन्धको कारण अनावश्यक यस्तो मुद्रा ब्लक हुने अवस्थाबाट बच्न मुद्रा परिवर्तन गर्न सुझाइएको थियो।