काठमाडौं महानगरपालिकाको स्वास्थ्य प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्न २० जना कर्मचारीलाई एनआइसी एसिया बैंकले तलब दिने भएको छ।
महानगरका वडा नम्बर ५, ७, ८, १५ र २६ गरी पाँच स्वास्थ्य प्रवर्द्धन केन्द्रका चार/चार जना स्वास्थ्यकर्मी तथा कर्मचारीको तलब बैंकले बेहोर्ने सम्झौता भएको महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले जानकारी दिए।
उनका अनुसार बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यो सम्झौता गरेका हो।
सम्झौता पत्रमा महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनराज न्यौपानेले हस्ताक्षर गरेका छन्।
बैंकले तलब उपलब्ध गराउने गरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा महानगरले आठौं तहको मेडिकल अफिसर, पाँचौं तहको फिजियोथेरापी असिस्टेन्ट, कम्प्युटर अपरेटर र कार्यालय सहयोगी नियुक्त गर्ने बताएको छ। महानगरका अनुसार उनीहरूले तलब नेपाल सरकारको प्रचलित स्तरबमोजिमको हुनेछ।
सहरी स्वास्थ्य क्लिनिकलाई प्रवर्द्धन केन्द्रमा रूपान्तरण गरेसँगै स्वास्थ्य बीमा कार्यक्रम पनि सञ्चालनमा ल्याइने स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले बताए।
'बैंकसँगको सहकार्यमा सञ्चालन गरिएका केन्द्रहरू वैशाख ७ गतेभित्र सञ्चालनमा ल्याइने छ भने अन्य क्लिनिकलाई चालु आर्थिक वर्षको अन्त्यसम्म सञ्चालन गरिसक्ने विभागको योजना छ,' उनले भने।
एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत न्यौपानेले पनि महानगरका सहरी स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर स्वास्थ्य प्रवर्द्धन केन्द्रका रूपमा रूपान्तरण गर्न महानगरसँग सहकार्य गरिएको बताए।
महानगरका अनुसार २०८१ असार मसान्तसम्मका लागि बैंकसँग सम्झौता गरिएको छ। सम्झौता कार्यान्वयन हुन नसके १५ दिनको सूचना दिएर अन्त्य गर्न सकिने छ।